बिजनेश इन्टरेष्ट ग्रुपले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले कृषि क्षेत्रको व्यवसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व बृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको छ । यस कम्पनीको हाईलाईफ एग्रो एण्ड फुड्स ईन्डष्ट्रिज लिमिटेड तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा सबैभन्दा ठुलो लगानी रहेको छ । विभिन्न उद्योग, व्यापार, होटल तथा पर्यटन लगायतका क्षेत्रमा व्यापार सञ्चालन र विस्तार गर्न आफ्नो पूर्ण स्वामित्वका विभिन्न सातवटा सहायक कम्पनी स्थापना गरी काम अगाडि बढाएको छ । उपभोक्ताहरुलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन गो मार्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले पूर्ण स्वामित्वको चितवन फुड्स ईन्डष्ट्रिज लिमिटेड मार्फत दाल, चामल, तेल, आटा र गेडागुडी लगायतका खाद्य सामग्रीको उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले नमुना कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्र साथै खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि विभिन्न स्थानमा करिब ६० बिघा जग्गा खरिद गरी काम गरिरहेको छ । ‘जोड्दै नेपाली मन, खोज्दै आफ्नो पन’ भन्ने नारासहित स्वदेशी उत्पादन र उद्यमशीलता मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कम्पनीका काम देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र कैलालीको लम्कीचुहामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ ।

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५ नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश जेठ १७ गते हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित हुनेछ ।