एनआईसी एशिया र काठमाडौं ल्यानकोबीच ‘आइडिया टु आइपीओ’ समझदारी
काठमाडौं । एनआईसी एशिया क्यापिटल र काठमाडौं ल्यानकोबीच ‘आइडिया टु आइपीओ’ सेवाअन्तर्गत ‘निष्कासन तथा बिक्री प्रबन्धक’ नियुक्ति गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । एनआईसी एशियाले ‘आइडिया टु आइपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ। कम्पनीका अनुसार काठमाडौं ल्यानकोलाई क्यापिटलको आइडिया टु आइपीओ सेवाअन्तर्गत काठमाडौं ल्यानकोलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्नका लागि दुवै संस्थाबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको हो । काठमाडौं ल्यानको संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटीमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ । जसमध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन्। दोश्रो चरणमा भने अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडी बढाइएको कम्पनीले जनाएको छ। काठमाडौं ल्यानकोले आवासीय परियोजनाहरुको अतिरिक्त काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर उच्च गुणस्तरीयस्तरका भवन निर्माण गर्ने लक्ष्यसहित उच्च व्यवसायीक क्षमता हासिल गरेका संचालक, संस्थापक र संस्थागत लगानीकर्ताहरुको समूहबाट स्थापित संस्था भएको हुँदा आगामी दिनमा सानाठूला सबैं किसिमका व्यक्तिगत भिला तथा व्यावसायिक भवन निर्माणमा आफ्ना व्यवसाय तीव्र विस्तार गरी नेपालको रियल इस्टेट विकास कम्पनीको रुपमा नम्बर वान कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।
एक दर्जन लघुवित्तले लाभांश घोषणा गर्दा १९ वटाले नबाँड्ने, अझै ३१ संस्थाले डाकेनन् साधारणसभा
काठमाडौं । पुँजी बजारमा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचीकृत छन् । जसमध्ये हालसम्म ३१ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका हुन् । ३१ वटा लघुवित्तहरूले लाभांश सम्बन्धि निर्णय गर्दा १२ वटा लघुवित्तले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् । आरएसडिसी, स्वावलम्बन, एनआईसी एशिया, सपोर्ट, धौलागिरी, फर्स्ट माइक्रोफाइनान्स, साना किसान विकास, समता घरेलु, आत्मनिर्भर, ग्लोबल आइएमई, छिमेक र जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेका हुन् । गत वर्षको नाफाबाट विभिन्न १९ वटा लघुवित्तले लाभांश नबाँड्ने निर्णय गरेका हुन् । युनिक लघुवित्त, लक्ष्मी, गणपति, उन्नति सहकार्य, सिवाईसी नेपाल, बिपिडब्लु, इन्फिनिटी, उपकार, फरवार्ड, लसामुदायिक, नाडेप, हिमालयन, गुराँस र ग्रामीण विकास लघुवित्तले लाभांश बिना नै साधारणसभा आह्वान गरेका छन् । सबैको लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, मेरोमाइक्राफाइनान्स लघुवित्त र नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने भनेर घोषणा गरेतापनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैनन् । हालसम्म २४ वटा लघुवित्त संस्थाहरूले वार्षिक साधारणसभा आह्वान गरेका छन् । अझै ३१ वटा लघुवित्तले वार्षिक साधारण डाकेका छैनन् । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ४ गते काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ६ गते सम्पन्न छैठौँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे डाकेको छ । यस्तै, धौलागिरी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले १४औं वार्षिक साधारणसभा पुस २८ गते काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते भक्तपुरको बोडेमा बिहान ११ बजे आह्वान गरेको छ । यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले पाँचौं वार्षिक साधारणसभा पुस २८ गते दाङ्गको घोराहीमा बिहान ११ बजे डाकेको छ । यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले ११औं वार्षिक साधारणसभा पुस २९ गते लेकसाइड पोखरामा बिहान ९ बजे डाकेको छ । यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते मकवानपुर हेटौंडामा बिहान ११ बजे डाकेको छ । यस्तै, जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत र कर प्रयोजनसहित ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते केन्द्रय कार्यालय मोरङ्गमा बिहान साढे १० बजे पाँचौं वार्षिक साधारणसभा डाकेको छ । १९ लघुवित्तका सेयरधनीहरूको हात रित्तो युनिक लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेपनि तीन महिनापछि उक्त लाभांश रद्द गरी साधारणसभा आह्वान गरेको हो । लघुवित्त सञ्चालक समितिको मंसिर ३० गते बसेको बैठकले पुस २४ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको हो । लक्ष्मी लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे अग्रवाल भवन कमलपोखरी काठमाडौंमा १२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । गणपति लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे केन्द्रिय कार्यालय तनहुँमा सातौं वार्षिक साधारणसभा बोलाएको छ । उन्नति सहकार्य लघुवित्तको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले पुस २९ गते बिहान १० बजे रुपन्देही (भैरहवा)मा नवौं वार्षिक साधारणसभा डाकेको छ । सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे लेकसाइड पोखरामा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । बिपिडब्लु लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे जावलाखेल ललितपुरमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । इन्फिनिटी लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २८ गते बिहान १० बजे गैंडाकोट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)मा सातौं वार्षिक साधारणसभा बोलाएको छे । उपकार लघुवित्तको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले पुस २८ गते बिहान १० बजे कोहलपुर बाँकेमा पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको हो । फरवार्ड लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान ११ बजे दुहवी सुनसरीमा ११औं वार्षिक साधारणसभा डाकेको छ । सामुदायिक लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान ११ बजे काभ्रेपलाञ्चोकमा १०औं वार्षिक साधारणसभा बोलाएको हो । नाडेप लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान १० बजे काठमाडौंमा नवौं वार्षिक साधारणसभा बोलाएको हो । हिमालयन लघुवित्तको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते बिहान ११ बजे काठमाडौंमा १२औं वार्षिक साधारणसभा डाकेको हो । गुराँस लघुवित्तको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले पुस १८ गते बिहान ११ बजे बाँकेमा आठौं वार्षिक साधारणसभा बोलाएको हो । ग्रामीण विकास लघुवित्त सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर ३० गते बिहान ११ बजे आठौं वार्षिक साधारणसभा बोलाएको हो ।
सेयर बजारमा लगानीका केही सूत्र
विसं २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पुँजी बजार ‘ओपन क्राइ सिस्टम’देखि अर्धस्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतिक कारोबारको अवस्थामा आइपुगेको छ । तर, पनि नेपालको पुँजी बजार पूर्णतः विकास हुन सकेको छैन । आजका दिनसम्म पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पुँजी बजार विकास र विस्तार हुननसक्नु विडम्बनापूर्ण नै छ । २१ औं शताब्दीको आवश्यकता र माग अनुरूपको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेपालको पुँजी बजारको विकासमा धेरै काम गर्नुपर्ने देखिन्छ । आर्थिक विकासका लागि पुँजी बजारको विकास अपरिहार्य छ । तर चार दशकको यात्रा गरिसक्दा पनि यो बजार अझै बामे सर्दै गरेको अवस्थामा छ । त्यसैले यसको विकास र विस्तारमा सरकार, नियामक निकाय, लगानीकर्तासहित अन्य सरोकारवालाले ध्यान दिन जरुरी हुन्छ । पुँजी बजारको विकास र विस्तारका लागि लगानीकर्ताले उठाँउदै आएको र सम्बन्धित निकायमा बुझाएको बजार सुधारको ५८ बुँदे माग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सहमति भए बमोजिम कार्यान्वयन हुन सकिरहेको छैन । पुँजी बजार सुधार विस्तारका लागि उठाइएका काम कार्यान्वयनमा लानुको सट्टा अध्ययनको नाममा समितिमाथि उपसमिति गठन गर्ने कार्य हुँदै आएको छ । यस्तो कार्यले लगानीकर्ताको पुँजी बजारप्रतिको भरोसा छुट्दै गएको छ । बजार विस्तारका लागि उठाइएका जायज मागको समयमै सम्बोधन हुन सकेको छैन । यसले सरोकारवाला जिम्मेवारीबाट पन्छिएर पुँजी बजार विकासमा बाधक बनेको देखाउँछ । यसरी सम्बन्धित निकायहरु आआफ्नो जिम्मेबारीबाट विमुख रहँदा पुँजी बजार धारायसी बन्दै गएको छ । पुँजी बजारलाई प्रविधिमैत्री बनाएर लगानीकर्तालाई सूचना प्रविधि नीति लागु गरी बजारमा सहज रुपमा क्षमता अभिवृद्धि गर्दै बजारको विकास र विस्तारको स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानु पर्ने आजको टट्कारो आवश्यकता हो । लगानीकर्ताको हकहित संरक्षण गर्दै, संस्थागत सुशासन कायम गर्दै पुँजी बजारको जोखिमलाई न्यूनीकरण गर्दै, पुँजी बजारको विकास गर्ने कार्यमा दतचित्त भएर लाग्नु नै आजको आवश्यता हो । नियामक निकायले लगानीकर्ता समस्यामा पर्दा ‘बलेको आगोमा घिउ थप्ने काम’ गर्नु हुँदैन । सरकारको अग्रसरतामा बजारको समस्या पहिचान र त्यसको सम्बोधनको प्रयास गर्नुपर्छ । मुकदर्शक नबनी सङ्कट परेका बेला उद्धार गर्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सेयर बजारमा आउने समस्याका कारण पहिचान गरेर निराकरणको प्रयास त्यहाँका सरकारले गर्ने गरेका छन् । त्यसैगरी यहाँको सरकारले पनि अर्थतन्त्रको ऐना मानिने पुँजी बजारप्रति सकारात्मक बन्न सक्नुपर्छ । विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । प्रत्यक्ष प्रभाव पार्ने कुराले बजारलाई घटाउन सहयोग पुर्याउँछ । जस्तो कि देशको राजनितिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सरकारको पुँजी बजारप्रतिको दृष्टिकोण, समय समयमा हुने नीतिगत परिवर्तन आदिले बजार प्रत्यक्ष रुपमा प्रभावित बन्छ । साथै, समय समय फैलने अफवाले पनि बजारलाई प्रत्यक्ष रुपमा प्रभावित बनाउँछ । बजारमा अहिले नयाँ-नयाँ कम्पनी थपिने र सोही अनुपातमा सेयर संख्या थपिने क्रम बढ्दो छ । सेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा नकारात्मक असर परिरहेको छ । जसका कारण बजारको विकास एवं विस्तारमा प्रतिकूल असर परेको छ । बैंकमा आउने तरलताका कारण बजारमा नकारात्मक असर पर्छ । यता, लगानीकर्ताको अर्को टाउको दुखाइको विषय मार्जिनकल पनि हो । कहिले काहिँ बैंकहरुले लगानीयोग्य पुँजीको कृत्रिम भुत देखाई बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने गरेका छन् । यसले पनि बेलाबखत सेयर बजार प्रभावित बनाउँदै आएको छ । पुँजी बजारका पूर्वाधारमा सुधार तथा विकासका लागि पछिल्लो समय धितोपत्र बोर्डले पुँजी बजारमा उल्लेखनीय सुधार तथा विकासका कार्य गरेको छ । यसका अलावा पुँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पाटामा अझै सुधार गर्नुपर्ने छ । साथै, शिक्षण तथा जनचेतना अभिवृद्धिलाई क्रमिक रुपमा बढाउँदै लानुपर्ने देखिन्छ । बजारबारे ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउन चाहने लगानीकर्ता हच्किनु पर्ने स्थिति छ । हाम्रो बजारमा सेयर साक्षरताको अझै कमी छ । त्यस्तै, पुँजी बजारको विकास र विस्तारका लागि हामीले उठाएका जायज मागको सम्बोधन यथा समयमा नहुने र सम्बन्धित निकाय आआफ्नो जिम्मेवारीबाट बिमुख रहँदा पुँजी बजार अस्थिर रहेको देखिन्छ । पछिल्लो समय अभिभावक मानिने सरोकारवालाको घाँटी अँठ्याउने नीतिले थिलथिलो भएको पुँजी बजारमा लगानीकर्ताको अपेक्षाको चाङ धेरै छ । घट्दो बजारमा सेयरको कुरा सुन्ने बित्तिकै नाक खुम्च्याउनेहरु र सेयरबारे जानकारी नै नभएकाले समेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेको पाइन्छ । सेयर बजारलाई कतातिर डोहो¥याउने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञानले नै तय गर्ने विषय हो । बजार एकै दिनमा घट्दा लगानीकर्ताले यति गुमाए र बजार बढ्दा यति कुम्लाउन सफल भए भन्ने जस्ता समाचार सम्प्रेषण गर्ने मिडियाले लगानीकर्तालाई सबैभन्दा बढी भ्रमित र आशावादी पनि पार्ने गरेको पाइन्छ । यस्ता हेडलाइनका समाचारमा पनि ध्यान पुर्याउने गर्नुपर्छ । त्यस्तै, निरन्तर घट्दो बजारमा गुमनाम दुलोभित्र पसेर हराइरहेका बजार पण्डितहरु दुई चार दिन बजार के बढेको हुँदैन, बजारले आफ्नो बाटो तय ग¥यो “अब छिट्टै यति सय चुम्छ, उति सय चुम्छ’ जस्ता गाना बजाना सुरु गर्छन् । यस्तो गतिविधि देख्दा बजारका पण्डित भनाउँदाले खर्बौँको बजारसँग लङ्गुरबुर्जाको जस्तो व्यवहार गरेको पनि देख्न सकिन्छ । सेयर बजार भनेको दुई दिनको बजार होइन । दुई चार दिन बढ्दैमा संसार नै जितिने अनि दुई चार दिन घट्दैमा संसार नै सकिने पनि होइन । बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ । विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । सेयर बजारमा लगानीकर्ताका दुई प्रमुख शत्रु हुन् : लोभ र त्रास । यसबाट लगानीकर्ता सदैव टाढा बस्नुपर्छ । लोभले बजार बढ्दा अब सधैँ बढ्छ, बढि नै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सद नै हुँदैन । यता, डर र त्रासले बजार घट्दा अब सधैँ घट्छ, घटि नै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने विश्वास नै हुँदैन । सेयर बजार सधैँ बढ्दैन अनि सधैँ घट्दैन पनि । बढेपछि घट्छ अनि घटेपछि बढ्छ । बजारका यी दुई प्रमुख शत्रु चिनेर समयअनुसार चल्ने लगानीकर्ता नै हो बजारबाट कमाउने अनि सधैँ टिकिरहने । जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अवश्य पनि हुन्छ । सेयर बजारलाई जति अवसरको खानीका रुपमा लिइन्छ, यसमा चुनौती पनि त्यतिकै हुन्छन् भन्ने बिर्सनु हुँदैन । आफूसँग भएको राम्रो कम्पनीको सेयर मूल्य सोचेजस्तो नबढ्ने तर आधारभूत पक्ष कमजोर भएका कम्पनीको मूल्य तीव्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई चाहिँ सुन सम्झेर पोर्टफोलियो परिवर्तन गर्ने धेरै भेटिन्छन्, जुन सबैभन्दा घातक पनि हुनसक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानीकर्ता पनि त्यत्तिकै भेटिन्छन् । र, तिनै मृत्युको मुखसम्म पुग्ने गरेका पनि छन् । आफूसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । आफूले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नु पर्दछ । युवा सिङ्गो देश बोक्नसक्ने मेरुदण्ड हुन्; आफैंमा ऊर्जाशील शक्तिले भरिएको युगका सुन्दर बिहानी हुन् । आजका युवा नै भोलिका कर्णधार हुन्, भोलिका दिनमा सबै क्षेत्रको नेतृत्व लिने अहिलेका युवाले नै हो । त्यसैले युवा सेयर बजारमा आवद्ध हुनु एकदमै जरुरी रहेको छ । लगानीका केही सूत्र थोरै रकमले व्यापार व्यवसाय गर्न सकिन्न तर सानोभन्दा सानो बचत पनि सेयरमा लगाएर आम्दानी गर्न सकिन्छ । सुरुमै धेरै कमाउन नसकिएला तर त्यो समय कमाउने भन्दा पनि सिक्न, बुझ्ने अभ्यस्त हुने, बेला हो । पढाइमै धेरै समय खर्चिनु पर्ने हुँदा अन्य कामको लागि समय हुँदैन तर सेयर बजारलाई धेरै समय दिनु जरुरी छैन । पत्रपत्रिका, मिडिया, सामाजिक सञ्जाल, साथी भाइबाट पनि सेयर बजारबारे जानकारी लिन सकिन्छ । युवा अवस्थामा खर्च गर्ने मात्र थाहा हुन्छ । आम्दानी र बचतमा अरुको भर पर्नुपर्ने हुँदा यसबारे केही थाहा हुँदैन र थाहा पाउन आवश्यक पनि ठानिँदैन । तर यही बेलादेखि युवाले आम्दानी, खर्च, बचत र व्यवस्थापनबारे ज्ञान पाए भने अभिभावकमा पनि आर्थिक भार कम हुन जान्छ । यसका लागि सेयर बजार उत्तम विकल्प हो । पछिल्लो समयमा आएर सेयर बजारमा युवाको संलग्नता बढ्दै गएको पाइन्छ । खाजा खर्च, फजुल खर्च कटाएर सेयर बजारमा लगानी गर्ने गरेको पाइन्छ जुन राम्रो कुरा हो । अझ भन्ने नै हो भने स्कुल तहदेखि नै सेयर शिक्षा दिन जरुरी छ । पाठ्यक्रममा पनि यसलाई समावेश गर्न सके धेरै राम्रो हुन्छ । सरकार र धितोपत्र बोर्डले आफ्ना मातहतमा रहेका निकायलाई काम गर्न दबाब सिर्जना गरिदिएर कडा निर्देशन गरिदिने हो दिने हो भने हाम्रो पुँजी बजार पनि आधुनिक, प्रविधिमैत्री, अन्तर्राष्ट्रिय स्तरको र सबै नेपालीको पहुँचमा पुग्नसक्ने थियो । बेलाबखत सरकार र नियामक निकायले बेलाबेलमा गलत निर्णय र गलत अभिव्यक्ति दिएका कारण लगानीकर्तामा अन्यौल सिर्जना भई सेयर बजार बारम्बार कोमामा पुग्ने गरेको छ । आम लगानीकर्ताको भावनामा गम्भीर असर पार्दै पुँजी बजारप्रति निरुत्साहित बनाएको छ । बजार विस्तारका काम कार्यान्वयनमा देखिएको कमजोरी र रणनीतिक काम अवरुद्ध हुँदा, नियमनकारी निकायको उदासीनताले पुँजी बजारमा बेलाबेलमा गम्भीर समस्या ल्याउँदै लगानीकर्ताको बिचमा चरम निराशाको अवस्था उत्पन्न हुने गरेको छ । ५० लाखभन्दा बढी लगानीकर्ताको सम्पत्तिको सुरक्षामा गम्भिर चुनौती देखा पर्छन् । त्यसैले नेपाल सरकारले पनि पुँजी बजारप्रति हेर्ने दृष्टिकोण स्पष्ट र सकरात्मक हुनुपर्छ । आर्थिक विकासका लागि पुँजी बजारको विकास अपरिहार्य छ । चार दशक बढीको समयमा काटिसक्दा पनि यो बजार अझै बामे सर्दै गरेको अवस्थामा रहेको हुँदा यसको विकास र विस्तारमा सरकार, नियामक निकाय, लगानीकर्तासहित अन्य सरोकारवालाले ध्यान दिनु जरुरी छ । सङ्कटमोचनका लागि नीतिगत र कानुनी कदम धितो बोर्डको नेतृत्वले बजारको तत्कालीन कारोबार र पुँजीकरण मात्र नहेरी दीर्घकालीन र दिगो विकास एवम् लगानीकर्ताको हित संरक्षणका लागि काम गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको सेयर धितो कर्जाको सीमा हटाउनु पर्छ । बजारको सुधार अनि अगाडि बढाइएका सेयर कारोबार वृद्धि र व्यवस्थापनका प्रयासले कारोबारी र लगानीकर्तालाई केही आकर्षित त गर्ला, तर दीर्घकालसम्म टिकाउन मुस्किल हुन्छ । अहिलेको अवस्थालाई अवसरका रुपमा लिँदै धितो बोर्डको नेतृत्वले बजारको तत्कालीन कारोबार र पुँजीकरण मात्र नहेरी दीर्घकालीन र दिगो विकास एवम् लगानीकर्ताको हित संरक्षणका लागि काम गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको सेयर धितो कर्जाको सीमा हटाउनु पर्छ । पुँजी बजारमा प्रविधिको उपयोग बढ्दै कारोबारमा सहजता सँगै बढ्दो लागत, तथ्यांक भण्डारण, सुरक्षा र उपयोग तथा प्रविधिकै दुरूपयोगबाट लगानीकर्तामा हुने हानी, बजार सञ्चालन र व्यवस्थापनमा आइपर्ने चुनौतीका साथै डिजिटल डिभाइडबाट बजार पहुँच वा बहिष्करणको सम्भावनालाई प्रभावकारी ढङ्गले सम्बोधन गरिनुपर्छ । प्रविधिकै दुरूपयोग गर्दै सीडीएसले लगानीकर्ताको जानकारी–स्वीकृतिबिना डिम्याट खाताबाट सेयर झिक्ने, मर्चेन्ट बैंकरले बैंक खातामा पैसा राख्ने र झिक्ने काम गरेको छ । यस्तो गैरकानुनी काम अन्त्य गर्नुपर्छ । बजार पुँजीकरण र सूचकांकको विश्वसनीयता कायम गर्न पारदर्शिता, विधिमा एकरूपता कायम गर्नुका साथै बाँडफाँड नीतिमा पुनरावलोकन, आइपिओ, हकप्रद र बोनसको बाँडफाड र सूचीकरण, मर्ज वा प्राप्ति गरेका कम्पनीको सूचीकरण र आरम्भिक मूल्य गणनामा आवश्यक निर्देशन र नियमन हुनुपर्छ । कारोबारलाई सहज बनाउन चुस्त र प्रभावकारी कारोबार प्रणाली, सिडिएस तथा डिपी, बैंक तथा वित्तीय संस्था र दलालबीच कारोबार, सेयर तथा भुक्तानी राफसाफका लागि ‘सिस्टम इन्टिग्रेसन’ र कानुनी प्रावधान हुनुपर्छ । अनलाइन कारोबार प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाइनु पर्छ । औसत लागत गणना र स्वघोषणाको विद्यमान प्रणालीमा सुधार गर्दै नेप्से वा सिडिएससी र सफ्टवेयरबाटै वैज्ञानिक र व्यावहारिक लागत गणना र कर निर्धारणको व्यवस्था गरिनु पर्छ । कम्पनीको व्यावसायिक र वित्तीय सूचनामा शुद्धता, यथार्थपरकता, पर्याप्तता र एकरूपताका लागि त्रैमासिक विवरणको ढाँचामा पुनरावलोकन गर्दै विभिन्न उपसमूहका कम्पनीको विवरणमा एकरूपता, सार्वजनिक सूचनाप्रति कम्पनीका सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउँदै र गलत सूचना प्रवाहबाट हुने हानि–नोक्सानीमा क्षतिपूर्ति तथा कारबाहीको व्यवस्था, सार्वजनिक सूचनाको पर्याप्तता, यथार्थता र शुद्धताको परीक्षण गरिनुपर्छ । (पोखरेल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।सेजन स्मारिका ‘अर्थनीति २०८०’बाट साभार)