निर्जीवन बीमा क्षेत्रमा लगानीकर्ताको आकर्षण, ३ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.२ अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ८.२ अंक अर्थात ०.४२ प्रतिशतले बढेर १९७४ अंकमा कायम भएको हो । आज ३११ स्टकको ७८ लाख ५७ हजार कित्ता सेयर ४९ हजार ७६४ पटक खरिदबिक्री हुँदा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको भएको छ । आज फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढेको छ । यसअघि गत बिहीबार होटल समूह सबैभन्दा धेरै ६.९ प्रतिशत बढेको थियो । आज दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घटेको छ भने ७ को स्थिर रहेको छ। आज सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै उन्नति सहकार्यको ७.५, युनाइटेड अजोड इन्स्योरेन्सको ५.६, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.५, एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढेको हो । मानुषी लघुवित्तको ५.४, दोल्ती पावरको ४.५, आरएसडीसी लघुवित्तको ४.४, सोल्टी होटलको ३.६ र नेस्डो लघुवित्तको ३.४ प्रतिशत मूल्य घटेको हो । कारोबार रकमका आधारमा आज सांग्रिला विकास बैंक, पोखरा फाइनान्स, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनी अगाडि रहेका छन् । आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।  

सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट ट्रान्समिसन लाईन मार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जनाएको छ । यस संस्थामा संलग्न समूहद्धारा प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत तथा सौर्य उर्जा उत्पादन गरी राष्ट्रको उर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

सिटिजन लाइफको सेयर कारोबार फुकुवा

काठमाडौं । अनिश्चितकालका लागि रोक्का भएको सिटिजन लाइफको सेयर कारोबार फुकुवा भएको छ । सिटिजन लाइफले घोषणा गरेको लाभांशमा लगानीकर्ताहरूलाई दुविधा सिर्जना गरेकाे भन्दै नेप्सेले गत वैशाख २५ गते मंगलबारदेखि नै लागु हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । आइतबार नेप्सेले कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको सूचना जारी गरेकाे बताएकाे छ । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था पालना नगरेकाले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नका लागि भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो । कम्पनीले वैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोबार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्रमार्फत प्रतिबद्धता व्यक्त गरेको थियो । कम्पनीले हाल कायम सेयर प्रिमियमबाट कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, बीमा प्राधिकरणले उक्त लाभांश रद्द गर्न निर्देशन दिएपछि कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश रद्द गरेको थियो ।