अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि १ करोड ७० लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

३ लघुवित्तसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । बिहीबार विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरीले पुस १३ गते, राधी विद्युतले पुस १५ गते, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । आइसिएफसि फाइनान्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते आम्रपाली ब्यांक्वेट काठमाडौंमा २० औँ वार्षिक साधारणसभा बिहान १० बजे बोलाएको छ । सिक्लेस हाइड्रोपावरले चुक्ता पुँजीको ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते प्रथम वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको हो । घोराही सिमेन्ट इण्डष्ट्रीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते दाङको घोराहीमा तेस्रो वार्षिक साधारणसभा बिहान ९ बजे बोलाएको हो । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न २३औं वार्षिक साधारणसभा पुस २५ गते रजिष्टर्ड कार्यालय पर्सामा डाकेको छ । आत्मनिर्भर लघुवित्तले चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते दाङमा पाँचौ वार्षिक साधारणसभा बिहान ११ बजे बोलाएको छ । सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो । साना किसान विकास लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते भक्तपुरको बोडेमा बिहान ११ बजे बोलाएको हो ।

युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि हाइड्रोपावरले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बुधबार सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच कमलादीमा हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावरको हकप्रद सेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ । युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी – १ जलविद्युत आयोजना’ २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।