माइक्रोफाइनान्स र निर्जीवन बीमाबाहेक उपसमूह घटे, कसले गुमाए धेरै ?

काठमाडौं । साताको पहिलो दिन सेयर बजार २४ अंकले घटेको छ। आज नेप्से परिसूचक २४.५८ अंकले घटेर १९ सय ७४ को विन्दुमा अडिएकाे  छ । आज ३१६ कम्पनीकाे ९७ लाख ६२ हजार कित्ता सेयर ६० हजार ५२३ पटक खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भयाे । माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचकबाहेक सबै उपसमूह घटेका छन् । माइक्रोफाइनान्स ६.८४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा ४.२९ प्रतिशतले बढेको छ। आज ४२ कम्पनीको मात्रै सेयर मूल्य बढ्दा १९६ कम्पनीको सेयर मूल्य घट्याे भने ७ कम्पनीको स्थिर रह्याे । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्से  छ। आज सबैभन्दा धेरै कमाउनेमा दोल्ती पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशत गुमाएका हुन् ।    

आईएमई लाइफको नगद लाभांश प्राधिकरणले रोक्यो, वैशाख १९ र २० गतेको कारोबार रद्द गर्न माग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर मात्र दिने भएको छ । कम्पनीले वितरण गर्न प्रस्ताव गरेको नगद लाभांशमा नेपाल बीमा प्राधिकरणले अंकुश लगाएको छ । सुरुमा कम्पनीले ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । त्यसमा २५ प्रतिशत बोनस सेयर र ९.५ प्रतिशत नगद लाभांश दिने भनिएको थियो । कम्पनीले वैशाख १९ गते ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । वैशाख २३ गते नयाँ सूचना जारी गर्दै २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने जनाएको हो । ३४.५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको निणर्य बोदार्थ बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणले कर प्रयोजनबाहेक नगद लाभांश वितरणमा रोक लगाएको आइएमई लाइफले जनाएको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । बोनस सेयर जारीपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरण उच्च स्रोतका अनुसार सेयर प्रिमियमबाट आर्जीत नाफालाई बोनस सेयरको रुपमा वितरण गर्न स्वीकृत गरिएको हो । कम्पनीले बीमा व्यवसाय गरेर आर्जन गरेको नाफालाई नगद लाभांशमा वितरणमा रोक लगाएको छ । ‘२५ प्रतिशत बोनस सेयर वितरण गरेकै छ । कर प्रयोजनका लागि नगद लाभांश पनि वितरण गर्न भनेका छौं । विगत पाँच वर्षदेखि कमाएको नाफालाई कम्पनीले एकै पटक नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको थियो । यो रकम संचित कोषमा राख्नु, अर्को वर्ष वितरण गर्न मिल्छ भनेका हौ’ उच्च अधिकारीले भने । पुँजी बजारमा सूचिकृत कम्पनीको लाभांश घोषणा हुने र पछि घटाउने अभ्यास गलत भएको, यस्ता कार्यले साधारण सेयरधनीलाई फसाउने गरेको यस्ता कार्यको आलोचना हुँदै आएको छ । कतिपय अवस्थामा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दोषीहरुलाई कारवाही समेत गरेको उदाहरण रहेका छन् । लाभांश घोषणापछि वैशाख १९ र २० गते पनि सेयर कारोबार भएको थियो । उक्त सेयर कारोबार रद्द गर्नुपर्ने माग खरिदकर्ताले गरेका छन् ।

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातिसहित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् । उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।