२८ अंकले बढ्यो नेप्से, हाइड्रोपावर र लघुवित्तमा आकर्षण

काठमाडौं । मंगलबार सेयर बजार २८.६२ अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन् । नेप्से परिसूचक २८.६२ अंक अर्थात १.४३ प्रतिशतले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ । केही समयदेखि निरन्तर १९ सय बिन्दुमा रहँदै आएको नेप्से परिसूचक २ हजार बिन्दुमा पुगेको हो । आज सेयर बजार बढेपनि २२ कम्पनीको मूल्य घटेको छ भने २१९ कम्पनीको बढेको छ । त्यस्तै ३ कम्पनीको स्थिर रहेको छ । नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ ।  आज ४ अर्ब बढीको सेयर कारोबार भएको छ । यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर कारोबार भएको हो । सोमबार करिब साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । आज सबै क्षेत्रका सूचकहरु बढेका छन् । माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ । आज समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ ।  आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

सेयर बजारमा घटेको नयाँ कमिसन आजबाट लागु हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?

काठमाडौं । आजबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घटाएको ब्रोकर कमिसन लागु हुँदैछ । बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले जेठ १ गतेबाट लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलालीबापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत कमिसन लाग्ने छ । यस्तै ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबाररमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत कमिसन लाग्ने छ । यस्तै २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ भने १ करोड रुपैयाँभन्दा माथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कमिसन लाग्ने छ । सेयर लगानीकर्ताले यसअघि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका थिए । यस्तै ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका थिए ।

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । संस्थाका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।