काठमाडौं । बिहीबार विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, छिमेक लघुवित्त, रु रु जलविद्युत परियोजना, सुपरमादी हाइड्रोपावर र विन्ध्यवासीनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज पुस १६ गते अन्तिम दिन हो ।
साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस १७ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।
गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा १७ औँ वार्षिक साधारणसभा बिहान ११ बजे बोलाएको हो ।
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न १६औं वार्षिक साधारणसभा पुस २६ गते कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते मकवानपुर हेटौँडाको होटल सामनामा २२ औँ वार्षिक साधारणसभा बिहान ११ बजे डाकेको हो ।
रू रू जलविद्युत आयोजनाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न १८औं वार्षिक साधारणसभा पुस २५ गते नक्साल काठमाडौंमा डाकेको छ ।
सुपरमादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको २ प्रतिशत (कर बाहेक)का दरले ४ करोड २ लाख रुपैयाँ नगद लाभांश र कर प्रयोजनका लागि २२ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कूल ४ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते १३ र १४औं वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको छ ।
विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगल लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २६ गते काठमाडौंमा बिहान १० बजे सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।