हिमाल वाटर पार्क भिलेजले आईपीओ ल्याउने, कुमारी क्यापिटलसँग सम्झौता

काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेटलाई आईपीओ जारी गरि सूचीकरणको चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । नेपालको पर्यटन विकासमा टेवा पुर्‍याई वैदेशिक मुद्राको सञ्चितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालि भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ । हाल परिवर्तित गण्डक, वहुवरी-­१४ विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले सुइट डिलक्स एक्जिक्युटिभ प्रसिडेन्सियल सुइट गरी ६० वटा सुविधा सम्पन्न कोठाहरूका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित सेवा प्रदान गर्दै आइरहेको छ ।

डिम्याट खाताको वार्षिक शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । डिम्याट खातावालाहरूले प्रत्येक आथिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । खातावालाहरू यही असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा यो रकम बुझाउन सक्नेछन् । मेरो सेयर प्रयोगकर्ताले मेरो सेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन । साथै, १ हजार ९९९ रुपैयाँ भुक्तानी गरी यस कम्पनीबाट सञ्चालित आजीवन डिम्याट र मेरो सेयर खाता योजनाको सुविधा लिई वार्षिक रूपमा नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने कम्पनीले जनाएको छ ।

प्रभु बैंकको ६ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २ सय ३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने छन् । बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापकहरूबाट सेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी शेसयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।