ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गरेर संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन । यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी संघसंस्था वा सर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चाेकमा निवेदन दिनुपर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरे प्रचलित नियमानुसार अन्य व्यत्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरको नयाँ सेयर मूल्य निर्धारण गरेको हो । नयाँ मूल्य अनुसार कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४४८ रुपैयाँ कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५६० रुपैयाँ कायम थियो ।