हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुने कम्पनीले जनाएको छ । त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ ।

कुमारी बैंकको २ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८७ हजार ५ सय ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बढिरहेको सेयर बजार निरन्तर तीन दिन बन्द

काठमाडौं । सेयर बजार तीन दिन बन्द हुने भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको सेयर बजार सार्वजनिक विदाका कारण निरन्तर तीन दिन बन्द हुने भएको हो । सरकारले भोलि अर्थात् बिहीबार बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदाको घोषणा गरेको छ । भोलि सार्वजनिक विदा भएकोले सेयर बजार पनि बन्द हुनेछ । त्यसपछि पर्सी अर्थात् शुक्रबार र शनिबार पनि सेयर बजार बन्द नै रहनेछ । किनकि शुक्रबार र शनिबार सेयर बजार बन्द नै हुने गरेको छ । गृह मन्त्रालयले मुलुकभर नै बुद्ध जयन्तीको सार्वजनिक विदा दिएको हो । अब आइतबार मात्रै सेयर बजार खुल्नेछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गरेपछि सेयर बजार नियमित बढिरहेको छ ।