सानिमा जिआईसीले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो काराेबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साेमबार नेप्से १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा कायम भएको छ । मौद्रिक नीतिको नजिकमा विकास बैंक तथा वाणिज्य बैंक दुबैको सेयर बढेको छ । वाणिज्य बैंकको सेयर सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेर १०८८.६८ बिन्दुमा कायम भएको छ । यस दिन विकास बैंकको सेयर पनि १.३१ प्रतिशतले बढेको छ । सेयर बढेसँगै सो समूह ४०५०.०१ बिन्दुमा कायम भएको छ । सोमबार सबैभन्दा धेरै फाइनान्स समूह ०.८३ प्रतिशतले घटेको छ । सूचीकृत १३ समूहमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूह ०.२१ प्रतिशत घटेको छ । बाँकी सबै समूहमा हरियाली छाएको छ । कारोबार रकमको आधारमा साेमबार पनि नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३२३ स्टकको २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै २ लाख १ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । उक्त संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थापक सेयर गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष खरिद आवेदन पेस गर्न सक्नेछन् । उक्त अवधिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।