नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा राखेको हो । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । संस्थापक सेयरधनीले काठमाडौं लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलिन मूल्य भन्दा कम हुने कम्पनीले जनाएको छ । उल्लेखित मितिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेस नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४३ हजार २ सय ९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौं डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको म्यादसम्म सेयरधनीहरूबाट खरीद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।