यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६१.३० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१८.९० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५६१.३० रुपैयाँलाई आधार मानेर हुनेछ ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौंं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खरिदबिक्री हुँदा तीन अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । विकास बैंक शून्य दशमलव ६६, वित्त समूह शून्य दशमलव ४०, लगानी समूह शून्य दशमलव ०९ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक एक दशमलव ०४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ३७ प्रतिशतको गिरावट आएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ५८ लाख ३२ हजार आठ सय नौ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २५ हजार ५८ कित्ता सेयर किनबेच भएको छ ।

संखुवासभा पावरले आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

काठमाडौं । संखुवासभा पावर डेभलपमेण्टले आईपीओ जारी गर्ने भएको छ । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गरेका छन् । क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत काठमाण्डौ महानगरपालिका, पेप्सीकोला, काठमाडौंमा रजिष्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेण्ट कम्पनीलाई क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित संखुवासभा पावर डेभलपमेण्टलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटल र संखुवासभा पावर डेभलपमेण्ट कम्पनीबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो । कम्पनीका अनुसार संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत सेयर अर्थात १०० रूपैयाँ अंकित दरका २५,५०,००० कित्ता साधारण सेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।