काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा सूचिकृत १३ समूहमध्ये फाइनान्स समूह सबैभन्दा धेरै ५.४९ प्रतिशतले बढ्यो । सो समूह १२८.८३ अंकले बढेसँगै २४६९.३० बिन्दुमा कायम भएको छ । आइतबार रिलायन्स फइनान्स र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यति मात्रै होइन कारोबार रकमको आधारमा पनि सबैभन्दा धेरै फाइनान्सकै कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने सबै फाइनान्स समूहकै रहेका छन् । आइतबार पोखरा फाइनान्स, रिलायन्स फइनान्स र नेपाल फाइनान्स कारोबार रकमको शीर्ष तीन स्थानमा रहेका छन् ।
पोखरा फाइनान्सको मात्रै १७ करोड १३ लाख रुपैयाँको बारोबार भएको छ । यस्तै रिलायन्स फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ र नेपाल फाइनान्सको १३ करोड १६ लाख रुपैयाँ बराबरको बारोबार भएको छ । बिहीबार पनि यस समूहको सेयर सबैभन्दा धेरै १.८२ प्रतिशतले बढेको थियो भने बुधबार यो समूह २.६२ प्रतिशतले बढेको थियो ।
पछिल्लो केही दिन यता फाइनान्स समूहमा लगातार हरियाली छाएको छ । बजेटपछि लयमा फर्किन नसकेको सेयर बजार मौद्रिक नीतिको प्रतिक्षामा रहेको लगानीकर्ताहरू बताउँछन् । तेस्रो त्रैमासिक रिपोर्टमा केही फाइनान्स कम्पनीहरूकाे वित्तीय विवरण सकारात्मक देखिएका कारण पनि फाइनान्स समूह लगातार लगानीकर्ताको रोजाइमा पर्न थालेको लगानीकर्ताहरूको धारणा छ ।
लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल कुनै पनि समूह बढ्नु र घट्नुमा अहिलेको अवस्थामा लगानीकर्ताले मौद्रिक नीति कुरेको हुनसक्ने बताउँछन् । ‘लगानीकर्ताहरूले कुन क्षेत्र रोज्नुहुन्छ त्यो त उहाँहरूको रोजाइको कुरा हो, तर अहिलेको अवस्थामा कुनै क्षेत्र बढ्नु र घट्नु भनेको लगानीकर्ताले मौद्रिक नीति कुरेका हुन सक्छन्,’ उनी भन्छन्, ‘मौद्रिक नीतिले सेयर बजारमा सुधार आउँछ कि आउँदैन, लगानीकर्ताहरूले गरेको माग पूरा हुन्छ कि हुँदैन र बजेटमा भनिए अनुसारको सुधार हुन्छ कि हुँदैन भन्ने अझै पनि दोधारमा नै छन् लगानीकर्ताहरू ।’
विगत केही महिनाबाट ओरालो यात्रामा रहेको सेयर बजार मौद्रिक नीतिले थोरै मात्र सम्बोधन गरिदियो भने सुधारको बाटोमा रहेको लगानीकर्ताहरूकाे भनाइ छ । यस्तै अर्का लगानीकर्ता तारा फुलेल बजारमा अहिले बैंक तथा वित्तीय संस्थाहरूमा प्रयाप्त मात्रामा पैसा थुप्रिएका कारण पनि यो समूह लगानीकर्ताको रोजाइमा परेको बताउँछन् । ‘अहिलेको अवस्थामा बैंकमा पैसा थुप्रिएको छ, त्यति मात्रै होइन केही लामो समय लगानी गर्न चाहने लगानीकर्ताहरूको रोजाइमा पनि फाइनान्स पर्न सक्छ त्यसकै कारण हुनसक्छ फाइनान्स समूहमा हरियाली छाएको हाे।’
बजारमा फाइनान्स कम्पनीको सेयर मूल्य क्रमश बढिरहेको छ । पछिल्लो दुई वर्षयता सेयर बजारले उकालो यात्रा तय गर्न सकिरहेको छैन । तुलनात्मक रूपमा राम्रो वित्तीय सूचक भएका वाणिज्य बैंक कारोबार रकमका आधारमा टप २० भित्रै पर्न छोडिसकेका छन् । अधिकांश बैंकको सेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । डेढ सय रुपैयाँकै हाराहारीमा मूल्य झर्दा पनि वाणिज्य बैंकको सेयर लगानीकर्ताको रोजाइमा परेको देखिँदैन ।
फाइनान्स समूहको सेयर मूल्य भने दिनप्रतिदिन उकालो लागिरहेको छ । सेयर बजारका जानकारहरू भने फाइनान्सको सेयर संख्या थोरै भएका कारण चलखेल गरेर मूल्य बढाउने काम भइरहेको बताउँछन् ।
सेयर विश्लेषक मुक्ति अर्याल बजारले गति लिन नसकेका बेला कम सेयर भएका कम्पनीमा लगानीकर्ताको मुभ भइरहेको बताउँछन् । फाइनान्स कम्पनीमा बढी सेयर भएकाहरूले मूल्य बढाउन चलखेल गर्दा सिधासाधा लगानीकर्ता फस्ने जोखिम रहने उनकाे भनाइ छ ।