काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको सेयर बजार सूचक र बजार पुँजीकरण दुवै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तको तुलनामा २०८३ साउन मसान्तमा नेप्से सूचकाङ्क र बजार पुँजीकरण घटेको हो ।
राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तमा २ हजार ७८८.३७ अंक रहेको नेप्से सूचकाङ्क २०८३ साउन मसान्तमा घटेर २ हजार ६४३.८४ अंकमा झरेको छ ।
त्यस्तै, २०८३ साउन मसान्तमा धितोपत्र बजारको कुल बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ। २०८२ साउन मसान्तमा बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
कुल गार्हस्थ्य उत्पादनको तुलनामा पनि बजार पुँजीकरणको अनुपात घटेको छ । २०८२ साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.१० प्रतिशत रहेकोमा २०८३ साउन मसान्तमा घटेर ६८.९० प्रतिशतमा आएको राष्ट्र बैंकले जनाएको छ ।
सूचीकृत कम्पनीको संख्या बढ्यो
यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या भने बढेको छ । २०८३ साउन मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या ३०५ पुगेको छ । २०८२ साउनमा यस्तो संख्या २७४ रहेको थियो ।
सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । त्यस्तै, १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।
बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५०.९ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १८.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.५ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक संस्थाको ४ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहका कम्पनीको ८.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०८३ साउन मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब ५९ करोड कित्ता शेयरको चुक्ता मूल्य ९४ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा ६ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ४ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर गरी कुल ६ अर्ब ९० करोड रुपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका छन् ।