आँखुखोला जलविद्युतले पायो हकप्रद सेयर निष्कासन अनुमति
काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन कुमारी क्यापिटको आग्रह
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक (साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक) का शाखा कार्यालयहरूमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । हितग्राही खातावालाहरूले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ । खातावालाहरूले कुमारी क्यापिटल तथा कुमारी बैंकका शाखा कार्यालमार्फत शुल्क बुझाउन सक्नेछन् । यस्तै ई–सेवा,केबीएल मोबाइ ल एप,आइएमई पे,प्रभु पे,खल्ती,कनेक्ट आईपीएस र फण्ड ट्रान्सफरमार्फत पनि शुल्क बुझाउन सकिने कम्पनीले जनाएको छ । वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ । यस्तै, ९९९ रुपैयाँमा आजीवन हितग्राही खाता नवीकरण गर्न सकिने कम्पनीको भनाइ छ ।
नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् । । तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।