६ अर्बको कारोबार हुँदा सेयर बजार परिसूचक २१ सयको विन्दुमा
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार नेप्से परिसूचक २१.२७ अंकले बढेर २ हजार १४० को विन्दुमा कायम भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यस्तै, ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यसदिन यो कम्पनीका लगानीकर्ताले ५.२५ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् । यस दिन सबैभन्दा धेरै गुमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ । साधारणसभाले सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको छ । जसअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै अन्य वोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ । साधारण सभाको उद्घाटन लगत्तै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गानाले संयुक्त रुपमा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटन समेत गरेका थिए । कम्पनीका उप कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठका अनुसार घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । गत असार १८ गते अदालतले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही मुद्दामा शुक्रबार बसेको न्यायाधीश मल्ल र ढकालको संयुक्त इजालासले नियुक्ति प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको हो । सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्द रिट दायर गरेका थिए । श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अध्यक्ष छनोट समितिले पाँच जनामध्ये तीन जना अन्तार्वार्तामा नआएपछि प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित भएका थिए । तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए । त्यसपछि सरकारले प्रक्रिया नै रद्द गरेको थियो ।