प्रतिफल शून्य, सेयर मूल्य छोइनसक्नु

<p>काठमाडौं । आधारभूत र प्राविधिक विश्लेषण गर्न नसक्नेका लागि जोखिमको क्षेत्र हो सेयर बजार । तर, पनि लगानीकर्ताले लाखौं/करोडौं लगानी गरेर सेयर बजारमा त्यो जोखिम मोल्छन् । तर, सेयर मूल्य बढ्यो भने नाफा कमाउँछन्, घट्यो भने पुर्पुरोमा हात लगाउँदै सेयर बजारलाई सराप्छन् । अहिलेसम्मको उदाहरण हेर्दा सेयर बजारबाट कमैले कमाएका छन् । धेरैले गुमाएका छन् [&hellip;]</p>

काठमाडौं । आधारभूत र प्राविधिक विश्लेषण गर्न नसक्नेका लागि जोखिमको क्षेत्र हो सेयर बजार । तर, पनि लगानीकर्ताले लाखौं/करोडौं लगानी गरेर सेयर बजारमा त्यो जोखिम मोल्छन् । तर, सेयर मूल्य बढ्यो भने नाफा कमाउँछन्, घट्यो भने पुर्पुरोमा हात लगाउँदै सेयर बजारलाई सराप्छन् ।

अहिलेसम्मको उदाहरण हेर्दा सेयर बजारबाट कमैले कमाएका छन् । धेरैले गुमाएका छन् । अधिकांशले नबुझेरै लगानी थुपारिरहेका छन् । लगानी नाफाकै लागि गर्ने भए पनि अन्ततः सबैले घाटा खाएको समाचार सुनिन्छ । त्यो घाटा खानुको एउटै कारण हो कम्पनी । कम्पनीको कस्तो हो ? त्यसको स्ट्रेन्थ के हो ? त्यसको विगत, वर्तमानर भविश्य कस्तो हुन्छ भन्ने विषयको विश्लेषण नगरेरै धेरै लगानीकर्ताले अन्धाधुन्द लगानी गर्छन् ।

पछिल्लो तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७२ छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । यी मध्ये कुनै यस्ता कम्पनी छन् जसको कुनै हैसियत छैन । अर्थात् ती कम्पनीले न विगतमा लाभांश प्रदान गरेका छन् नत आगामी दिनमा लाभांश दिन सक्ने सामथ्र्य देखिन्छ । तर, तिनै कम्पनीको सेयर मूल्य छोइनसक्नु छ । बजारमा उच्च रुपमा तिनै कम्पनीको कारोबार भइरहेको छ । आज हामीले यो सामग्रीमा त्यस्ता कम्पनीको विषयमा चर्चा गरेका छौं ।

राष्ट्रिय बीमा कम्पनी

बजारमा बढी सेयर मूल्य भएको कम्पनीका रूपमा राष्ट्रिय बीमा कम्पनी परिचित छ । उच्च मूल्य हुने कम्पनीका रूपमा तेस्रो नम्बरमा छ राष्ट्रिय बीमा कम्पनी । नेप्सेका अनुसार आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ हजार १११ रुपैयाँमा कारोबार भएको छ । ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् १६ हजार ५२४ रुपैयाँ र न्यूनतम १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको देखिन्छ । कम्पनीको साधारण सेयर मात्र नभई संस्थापक सेयर मूल्य पनि उच्च छ । संस्थापक सेयरको मूल्य प्रतिकित्ता १० हजार २३० रुपैयाँ रहेको छ ।

कम्पनीको सेयर मूल्य उच्च भएपनि प्रतिफल भने शून्य छ । यस कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूको हात रित्तो बनाएको छ । यस कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश पाउने अपेक्षामा रहेका लगानीकर्ताहरू त्यसयता निराश छन् । यस कम्पनीका सेयरधनीहरूले तत्काल प्रतिफल पाउने अवस्था पनि देखिँदैन । किनभने विगत लामो समयदेखि कम्पनीले आफ्नो लेखापरीक्षण गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०७२/७३ सम्मको मात्रै वार्षिक र लेखापरीक्षक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको छ । त्यसयताको कम्पनीको लेखापरीक्षण तथा वार्षिक साधारणसभा हुन सकेको छैन ।

राष्ट्रिय बीमा कम्पनीले कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते साविक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण)बाट निर्जीवन बीमकको इजाजतपत्र प्राप्त गरी साउन १८ गतेदेखि व्यवसाय सञ्चालन गरेको हो । हाल यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. शिवहरि श्रेष्ठ कार्यरत छन् । कम्पनीको साधारणसभा समेत गर्न नसकेको, लामो समयदेखि लाभांश पनि दिन नसकेको यस कम्पनीको सेयर मूल्य नेप्सेमा उच्च हुनुलाई धेरैले आश्चर्य मानेका छन् । यद्यपि, लगानीकर्ताहरु कम्पनीको सम्पत्ति धेरै रहेको र सो अचल सम्पत्ति बिक्री नै गरे पनि धेरै कमाउन सक्ने भएकोले सेयरमूल्य उच्च रहेको धारणा राख्छन् ।

विशाल बजार

पुँजी बजारमा बढी सेयर मूल्य भएको अर्को कम्पनी हो विशाल बजार । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ५० रुपैयाँ छ । ५२ सातामा यस कम्पनीको सेयर मूल्य अधिकतम् ४ हजार ५३९ रुपैयाँ र न्यूनतम ३ हजार ३४१ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्यांकबाट देखिन्छ । सेयर बजारमा यस कम्पनीको उच्च मूल्य भएपनि प्रतिफल शून्य छ । यस कम्पनीबाट पनि सेयरधनीहरूले हालसम्म प्रतिफल पाएका छैनन् ।

कम्पनीले विगत लामो समयदेखि लेखापरीक्षण पनि गर्न सकेको छैन । कम्पनीले पछिल्लो पटक आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसयता कम्पनीको कुनै तथ्याङ्क नै लगानीकर्ताहरूको पहुँचमा छैनन् । कम्पनीको सेयर स्वामित्वका विषयमा विवाद हुँदा अदालतमा मुद्दा विचाराधीन छ । तर, लगानीकर्ताको आकर्षण भने यही कम्पनीमा छ ।

समाज लघुवित्त

एक वर्षअघि समाज लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७२ रुपैयाँ थियो । दोस्रो बजारमा अधिकांश कम्पनीको पहिलो कारोबार अंकित मूल्यभन्दा बढीमा नै हुने गरेको छ । तर, समाज लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७२ रुपैयाँमा भयो । तर, पछिल्लो तथ्याङ्क अनुसार यस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन लघुवित्त वित्तीय समूहमा सबैभन्दा धेरै हो ।

२ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरूलाई १५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । त्यसयता लघुवित्तले लगानीकर्ताको हात रित्तो बनाएको छ । चैतसम्म लघुवित्तले खुद नाफामा २२ लाख ९८ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । साथै प्रतिसेयर आम्दानी १०.०६ रुपैयाँ ऋणात्मक छ । लघुवित्तका अधिकांश सूचक नकारात्मक छन् । अधिकांश सूचक नकारात्मक भएकै कारण आउँदो वर्ष पनि लाभांश दिन नसक्ने करिब पक्का छ । तर, यही लघुवित्तको मूल्य बजारमा उच्च छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर

नेप्सेमा सूचिकृत जलविद्युत कम्पनीहरूमध्ये सबैभन्दा उच्च मूल्य भएको हाइड्रोमा कुथेली बुखरी स्मल कम्पनी पर्छ । नेप्सेमा आइतबारको तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य १ हजार ४३० रुपैयाँमा छ । ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् १ हजार ७३० रुपैयाँ थियो भने न्यूनमत मूल्य ४७९ रुपैयाँ थियो ।

वि.सं २०८० भदौ ३ गते नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको छ । गत चैतसम्म कम्पनीले २ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१.२३ रुपैयाँ रहेको छ । यसपटक सेयरधनीहरूलाई लाभांश वितरण नगरे पनि आगामी वर्षमा भने कम्पनीले प्रतिफल भने दिन सक्ने देखिन्छ ।

एलआईसी नेपाल

पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो । असार २३ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३८५ रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ६५५ रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो ।

नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् । तर, विगतका वर्षको नाफा जगेडा कोषमा राखेकाले आगामी वर्षमा कम्पनीले सेयरधनीहरूलाई लाभांश दिन सक्नेछ ।

मुक्तिनाथ कृषि कम्पनी

नेप्सेमा महँगो मूल्य भएका कम्पनीहरूमध्ये मुक्तिनाथ कृषि कम्पनी हो । हालै सर्वसाधारणलाई सेयर जारी गरेर नेप्सेमा सूचीकृत भएको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३२२ रुपैयाँ रहेको छ । सेयर मूल्य उच्च भएपनि यस कम्पनीले सेयरधनीहरूलाई कुनै प्रतिफल दिन सकेन । ७० करोड चुक्ता पुँजी रहेको यस कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको तथ्याङ्क अनुसार २ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ४.०५ रुपैयाँ मात्रै छ ।

कालिञ्चोक दर्शन

होटल तथा पर्यटन समूहको सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी कालिञ्चोक दर्शन हो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । २०८० चैतमा नेप्सेमा सूचीकृत यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै प्रतिफल दिएन । गत चैतसम्म कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५८ लाख रुपैयाँ सञ्चित छ ।

चन्द्रागिरि हिल्स

होटल तथा पर्यटन समूह चन्द्रागिरि हिल्सको सेयर मूल्य प्रतिकित्ता ८८३ रुपैयाँ रहेको छ । ५२ हप्ताको अवधिमा कपनीको सेयर मूल्य अधिकतम १ हजार ५२० रुपैयाँ र न्यूनमत मूल्य ७६० रुपैयाँ थियो । १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चैतसम्मको विवरण अनुसार म्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.३८ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताको रोजाईमा परेको यस कम्पनीले सेयरधनीहरूलाई प्रतिफल दिन भने अझै केही समय लाग्ने देखिन्छ ।

Share News