समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन हुँदै, सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत
काठमाडौं । समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन हुने भएको छ । पुँजी संरचनामा संस्थापक सूमहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर कायम गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर संरचनामा संस्थापकको ५९.३७ प्रतिशत र सर्वसाधारणको ४०.६३ प्रतिशत रहेको छ । गत मंसिर ६ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले पुँजी संरचनामा परिवर्तन गर्ने प्रस्ताव पारित गरिसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । साथै कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत अभिलेख भइसकेको कम्पनीको भनाइ छ । माघ २२ गतेसम्म वित्तीय संस्थाको रेकर्डमा संस्थापक सेयरधनी रहेको सेयरधनीहरूको सेयर संरचना परिवर्तन गरिने कम्पनीले जनाएको छ । वित्तीय संस्थाबाट सेयर नामसारी (सेयर खरिदबिक्रि, घरायसी नामसारी, मृत्यु नामसारी, अंशवण्डा आदि) स्वीकृति लिई सेयर नामसारी गर्न बाँकि रहेका संस्थापक सेयरधनीहरुलाई समयमा नामसारी गर्न कम्पनीले अनुरोध गरेको छ । साथै सेयर संरचना परिवर्तनमा आफ्नो नाममा रहेको सेयर परिवर्तन गर्न नचाहेमा वा गर्ने इच्छा नभएमा ३५ दिन भित्र कम्पनीको कम्पनीमा जानकारी गराउनुपर्नेछ । उक्त समयमा जानकारी नदिएमा कानुन बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।
बलेफी हाइड्रोको हकप्रदमा ५० हजारको आवेदन, आज खरिद गर्ने अन्तिम दिन
काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको हकप्रद सेयरमा मंगलबार ५ बजेसम्म ५० हजार ४३८ जनाले २० लाख २० हजार ८१९ कित्ताका लागि २० करोड २० लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आवेदन परेको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
३३ अंकले घटेको सेयर बजारमा ५ अर्ब बढीको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार सेयर बजारमा २८ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३०८ कम्पनीको १ करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार प्रभु बैंकको भएको छ । प्रभुको ३५ करोड ९४ लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, नेपाल फाइनान्सको १७ करोड ८७ लाख, जानकी फाइनान्सको १४ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ९४ लाख रुपैयाँ बढीको करोबार भएको छ । मंगलबार उपसमूहमा अन्य सूचकको सेयर मूल्य ०.०६ प्रतिशतले बढेको छ । साथै, १२ वटा उपसचूक राताम्मे रहेकाे नेप्सेले जनाएको छ । वित्त कम्पनीको सेयर मूल्यमा आज उच्च अंकको गिरावट आएको छ । वित्त समूह ५.१९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह २.७७ प्रतिशत र व्यापार समूह ०.९७ प्रतिशतले घटेको छ । बैंकिङ ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ ।