हकप्रद सेयर निष्कासन गर्दै मन्दाकिनी हाइड्रो, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुईंटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसीरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ । कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा जारी पूँजी ६४ करोड ६७ लाख रुपैयाँ छ। मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

सेयर बजारमा ५ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार)  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हाे । नेप्सेका अनुसार सेयर बजारमा ७० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३१० वटा कम्पनीको २ करोड ९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु बैंकको भएको छ । प्रभुको ५० करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, जानकी फाइनान्सको २२ करोड ३९ लाख, सर्पोट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख, कुमारी बैंकको १४ करोड ८९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक २.४८ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।  

चमेलिया जलविद्युत आयोजनामा अपि पावरले ७३ करोड लगानी गर्ने

काठमाडाैं । अपि पावर कम्पनीले चमेलिया जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले सो आयोजनामा ७३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्ने भएको हो । पौष १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आयोजनाको स्वपूँजीको ५१.५८ प्रतिशत सेयर स्वामित्व लिने गरी ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । हाल सो आयोजनाको स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ रहेको छ । चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा निर्माण भइरहेको छ । जसको क्षमता २८.३० मेगावट रहने छ । सो आयोजना दर्चुला पावर लिमिटेडद्वारा पवद्र्धित हो भने दर्चुला पावर लिमिटेड अपि पावर कम्पनीको सहायक कम्पनी हो ।