कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.६९ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३१५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ । प्रभु महालक्ष्मीको ४६ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख, हिमालयन डिस्टीलरीको ११ करोड ७८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशतले बढेकाे छ । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशतले बढेकाे छ । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशतले घटेकाे छ । बिहीबार न्यादी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

रसुवागढी हाइड्रोले ३.२५ अर्ब कमाउने, सेयरधनीलाई लाभांश कहिले ?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले व्यावसायिक रूपमा बिजुली उत्पादन सुरु गरेको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको डेढ महिनापछि कम्पनीले व्यापारीक रुपमा विद्युत उत्पादन शुरु गरेको कम्पनी सचिव नरनथा न्यौपानेले जानकारी दिए । उनका अनुसार पुस १७ गते कम्पनी र प्राधिकरणका पदाधिकारीसहितको बैठकले पुस १६ गतेदेखि लागू हुनेगरी आयोजनाबाट उत्पादित विद्युतको व्यापारीक उत्पादन शुरु भएको हो । आयोजनाबाट वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुनेछ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । ‘लामो समयसम्मको हाइड्रोलोजी र खोलाको बहावको तथ्याङ्क राखिएको हुन्छ । यसमा आयोजना निर्माणको समयमा पनि तथ्याङ्क छ । त्यही अनुमान अनुसार पीपीए सम्झौता गरिएको हुन्छ,’ कम्पनी स्रोतले भन्यो, ‘त्यसै आधारमा बैशाखदेखि चैतसम्म उत्पादन हुने अनुमानित बिजुलीको तथ्याङ्कका आधारमा आम्दानी उल्लेख गरिएको हो । यदि भविष्यमा खोलाको बहाव परिवर्तन भयो भने आम्दानी पनि सोही अनुसार घटबढ हुन सक्छ ।’ पीपीएको सम्झौता अनुसार वर्षमा ४/५ महिना मात्रै १११ मेगावाट बिजुली उत्पादन हुने कम्पनी स्रोतको भनाइ छ । अन्य समयमा पानीको बहाव घटेर उत्पादन पनि घट्ने बताइएको छ । सबैभन्दा कम चैतमा २८/२९ मेगावाटमा मात्रै बिजुली उत्पादन हुने देखिन्छ । ‘परिक्षण गर्दा ५५ मेगावाट उत्पादन भएको थियो भने एक डेढ महिनामा ३९ मेगावाटमा झरिसकेको छ । यो घट्दै गएर चैतमा २९ मेगावाटमा भर्छ । पीपीएमा पनि यही नै उल्लेख गरिएको छ,’ कम्पनी स्रोतले भन्यो । कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेको भएपनि तत्काल लाभांश पाउने सम्भावना न्यून रहेको छ । विभिन्न संस्थासँग लिएको ऋणको किस्ताबन्दी तिर्ने र बाँकी रहेको रकम सेयरधनीहरूलाई वितरण गर्ने कम्पनी स्रोतको भनाइ छ । ‘कर्मचारी सञ्चय कोष, लगायत अन्य संस्थासँग ऋण लिँदा बिजुली उत्पादन भएपछि किस्ताबन्दी तिर्ने सहमति छ, १० वर्षको किस्ताबन्दी छ, किस्ता संख्या समान भएपनि लागत बढेको छ,’ स्रोतले भन्यो, ‘किस्ता रकमको आधारमा मात्रै सेयरधनीलाई लाभांश दिने/नदिने थाहा हुन्छ । यो वर्ष लाभांश दिन मिल्दैन । किनभने मध्यतिर मात्रै उत्पादन भएको छ । अर्काे वर्षदेखि वर्ष थाहा हुन्छ । यदि थोरै रकम मात्रै रह्यो भने २/३ वर्षको नाफा एकैपटक सेयरधनीलाई वितरण गर्नुपर्ने अवस्था हुन सक्छ ।’ १११ मेगावाटको उक्त जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण सम्पन्न भएको हो । गत मंसिर ६ गते मात्रै आयोजनाबाटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेका अनुसार टिमुरे (तातोपानी)स्थित विद्युत गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तय गरी सोही आधारमा ५० प्रतिशत स्वपूँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको हो । आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रुपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन भएको कारण संसोधित अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो । आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिकको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनामा चिलिमे जलविद्युतको ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर छ । आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको हो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५.५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरु ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुको ४.५ प्रतिशत, आयोजना प्रभावित रसुवाबासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ ।