अरूण भ्याली हाईड्रोको लाभांश घोषणा, सेयरधनीको भेला कात्तिक १४ गते डाक्यो
काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश पारित गर्न २७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ । साथै सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पाेरेट ग्यारेन्टी दिने प्रस्ताव पारित गर्नेछ । संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ४ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
कसरी बन्यो नबिल उत्कृष्ट बैंक ?
काठमाडौं । ‘संस्थाप्रति लगाव, झुकाव अनि आत्मीयता । संस्था मेरो र मेरा लागि हो । संस्थाको लागि होइन, आफ्नो लागि काम गर्छाैं । एक/दुई वर्ष काम गरेर छाड्नुपर्छ भन्ने मानसिकता छैन ।’ नबिल बैंकका कर्मचारीहरूको याे नै सबैभन्दा बलियो ‘स्ट्रेन्थ’ हो । कर्मचारीहरूको यही लगाव र झुकावले नबिल बैंकले ४० वसन्त पार गरिसकेकाे छ । जसरी बैंकले नम्बर वानको ताज सम्हालेको छ, त्यसको श्रेय कर्मचारीहरूलाई नै जान्छ । ‘त्यसैले त नबिल बैंकको कर्मचारी हुँ भन्दा गर्व महसुस हुन्छ,’ एक कर्मचारीले भने । ‘नबिल बैंकमा प्रवेश गरेपछि सितिमिति छाड्दैनन्, अन्य प्रतिस्पर्धी बैंक तथा संस्थामा जानुभन्दा कि विदेश जान्छन् कि आफै व्यापार व्यवसाय गर्न रुचाउँछन्,’ जनशक्ति विभाग प्रमुख दिवश कार्की भन्छन्, ‘अहिले पनि अधिकांश बैंकबाट धेरै कर्मचारी बाहिरिए तर, नबिलबाट छाड्ने कर्मचारीको संख्या न्यून छ ।’ उनका अनुसार नबिलमा जागिर गर्न पाए हुन्थ्यो भन्ने आकांक्षा अन्य बैंकका कर्मचारीहरूमा रहेको देखिन्छ । जसको मुख्य कारण भनेको कर्मचारीले पाउने सेवासुविधा र ग्रोथ रहेको उनले जानकारी दिए । त्यसैले नै काम गर्न थप उत्साह र जाँगर चल्ने गरेको उनी बताउँछन् । ‘कर्मचारीको योगदानले ४० वर्षदेखि नम्बर वान बैंकको ताज सम्हालिरहेको छ, बैंकले कर्मचारीको सबै आवश्यकता पुरा गर्दै आएको छ । संस्थामा आन्तरिक र बाह्य वातावरण सन्तुलन छ, बैंकको लक्ष्य के छ, त्यो लक्ष्य प्राप्त गर्न कस्ता चुनौती भोग्नुपर्छ भनेर कर्मचारीलाई जानकारी गराइन्छ,’ जनशक्ति विभाग प्रमुख कार्की भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि आइसक्यो । पुरानै सिप, अनुभवबाट संस्थालाई सञ्चालन गर्दा पछि परिन्छ । त्यसैले भइरहेका कामलाई निरन्तरता दिई बजार परिस्थितिअनुसार प्रतिस्पर्धा गरिरहेका छौं ।’ न्यूनतम र अधिकतम तलब नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गत वर्ष १ करोड ५९ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्षका सीईओलाई २ करोड ८३ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । तर, बैंकले सीईओबाहेकका कर्मचारीलाई अधिकतम तलब कति दिन्छ भन्ने प्रश्नमा उनी बताउँछन्, ‘उच्च व्यवस्थापकहरुलाई मासिक प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म तलब भुक्तानी गर्दै आएको छ । नयाँ भर्ना भएका कर्मचारीको सुरुवाती तलब २७ हजार रुपैयाँ छ । त्यही नै बैंकको सबैभन्दा न्यूनतम तलब हो ।’ अधिकांश बैंकका कर्मचारीहरुले सरकारले तोके बमोजिमका सेवा सुविधा, तलबभत्ता, बोनस पाउँछन् । सञ्चालन नाफाको १० प्रतिशत कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने प्राबधान छ । नबिल बैंकको नाफा बैंकिङ क्षेत्रकै उच्च भएकाले कर्मचारीको बोनस सुविधा पनि उच्च रहेको जनशक्ति विभाग प्रमुख कार्कीले बताए । ‘नबिलमा तलबबाहेकका सुविधा असाध्यै राम्राे छ, त्यसैले कर्मचारीहरू असन्तुष्ट हुँदैनन् । अन्य बैंकको तुलनामा नबिलमा धेरै कर्मचारी पनि छैनन्, कम जनशक्तिमा ‘नम्बर वान’ बैंकका रूपमा उभ्याएका छौं,’ उनले गर्व गर्दै भने, ‘संस्थाको आवश्यकता र परिस्थितिअनुसार जनशक्ति निर्धारण गरिन्छ ।’ जनशक्ति विभाग प्रमुख कार्कीका अनुसार बैंकले गत आर्थिक वर्ष २०७९/८० मा कर्मचारीहरूलाई ४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको थियो । बैंकमा २ हजार २५२ जना कर्मचारी कार्यरत छन् । साथै सो आवमा बैंकले कर्मचारीहरूका लागि ४४१ वटा कार्यक्रम गरेर ३ करोड ५० लाख रुपैयाँ बराबरको खर्च गरेको थियो । बैंकले आफ्ना कर्मचारीहरूलाई कर्मचारी सेवा विनियमावलीको प्रावधानभित्र रही सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । गत आवमा बैंकले ४ अर्ब ८० करोड रुपैयाँ कर्मचारीहरूलाई कर्जा प्रदान गरेको तथ्यांक छ । कर्मचारीको स्वागतदेखि बिदाइसम्म मान्छेको जन्मदेखि मृत्युसम्म जुन पद्धति छ, जनशक्ति व्यवस्थापन पनि सोही चक्रमा घुमिरहन्छ । कुनै एक जना मान्छेलाई संस्थामा कर्मचारीका रूपमा भर्ना गराउनु उसको जन्म र सो कर्मचारीले अवकाश पाउनु मृत्यु सरहजस्तै हो । ‘मान्छे जन्मेपछि लालनपालन, पोषणदेखि पढाइलगायत उसको वृद्धि विकास गर्नुपर्छ । कर्मचारीको जीवनमा पनि उसको सेवासुविधा र उचित मूल्यांकन गर्नुपर्छ । कर्मचारीको पदअनुसार जिम्मेवारी दिइन्छ, प्रोत्साहित गर्न रिवार्ड इन्सेन्टिभ आवश्यक पर्छ,’ जनशक्ति विभाग प्रमुख कार्कीले भने । बैंकिङ उद्योगमा नबिलको रिवार्ड इन्सेन्टिभ सबैभन्दा अब्बल छ । अन्य बैंकको तुलनामा कर्मचारी छाड्ने दर न्यून छ । यसबाट नै कर्मचारी खुसी, काम गर्न इच्छुक र उत्साहित छन् भन्ने प्रष्ट देखाएको उनले बताए । कर्मचारीको क्षमता अभिवृद्धि, काउन्सिलिङलगायत थप क्रियाकलापका लागि बैंकको सीईओ, विभागीय प्रमुखहरू उत्तिकै जिम्मेवार हुने गरेको उनले सुनाए । ‘कर्मचारीलाई स्वस्थ राख्नुपर्छ, त्यसका लागि विभिन्न प्याकेजको व्यवस्था मिलाउने, काम गर्ने भवन चिटिक्क पार्ने, स्वच्छ वातावरण, कृर्ची, कम्प्युटर सबै उपलब्ध गराइन्छ,’ जनशक्ति विभाग प्रमुख कार्कीले भने । अवकाश विभिन्न तीन कारण पहिलाे- उमेर हद (उमेर पुगेपछि), दाेस्राे- स्वेच्छिक राजीनामा र तेस्राे- निष्काशन गरेपछि हुन्छ । तर, बैंक छाड्नेभन्दा अवकाश पाउने कर्मचारी धेरै रहेको बताउँदै उनी भन्छन्, ‘कर्मचारी छाड्ने कम छन्, यसले बैंकमा कर्मचारी कति खुसी छन् भन्ने प्रमाणित गर्छ ।’ कोरोना र मर्जरले फेरियो संरचना कोरोनाअघिसम्म नबिल बैंकमा एउटा संरचना, रणनीति थियो, सोही अनुरूप काम गरिरहेको थियो । तर, कोरोनापश्चात् सबै संघसंस्थाले रणनीति, संरचना परिवर्तन गरे । अचानक परिवर्तन गर्दा अर्काे सेटमा काम गर्नुपर्ने भयो । साथै मजर एक्विजिशनले पनि काम गर्नेशैली परिवर्तन गर्नुपर्ने भयो । अन्य बैंक मर्जरका माध्यमबाट ठूला भएपछि आफ्नो शाख जोगाउन कर्मचारीलाई कामको दबाब परेको उनको भनाइ छ । तर, विगत एक वर्षदेखि पुनः आफ्नै लयमा फर्किएको जनशक्ति विभाग प्रमुख कार्कीको दाबी छ । ‘बजार स्थिर हुँदा जनशक्ति रणनीति धेरै परिवर्तन गर्नुपर्दैन, कर्मचारीको निरन्तर वृत्ति विकासका कार्य भने आवश्यक पर्छन् । कर्मचारीको अपेक्षा र बजारको स्थिति हेरेर रणनीति बनाइन्छ,’ उनले भने, ‘मर्जरपछि अधिकांश बैंकमा विवाद भएपछि हामीलाई सचेत गरायो र सही ढंगले व्यवस्थापन गर्याैं ।’ उनका अनुसार साविक नेपाल बंगलादेश बैंक (एनबी) का कर्मचारी र नबिल बैंकका उच्च व्यवस्थापकले कर्मचारी व्यवस्थापन सहज रूपमा टुङ्ग्याए । मर्जरपछि क्षमता, सीप अनुसारको व्यवस्थापन र जिम्मेवारी प्रदान गरियो । बैंकअघि नै सजक भएपछि मर्जरपछि विवाद आउनबाट नबिल जोगिएको उनी बताउँछन् । ‘नबिल र एनबीको जस्तो सफल मर्जर अन्य बैंकमा हुन सकेको छैन । किनभने मर्जरमा कुनै विवाद सिर्जना भएन, पारदर्शी भएरै कर्मचारी एकीकरण गरियो । देशभरिका शाखामा केन्द्रबाटै हेरेर कर्मचारी व्यवस्थापन गरियो । केन्द्रबाट पनि मान्छे पठाइयो । ठाउँको ठाउँ तालिम तथा काउन्सिङ व्यवस्था भयो,’ जनशक्ति विभाग प्रमुख कार्की भने । कर्मचारी आन्दोलित हुँदैनन् बैकिङ क्षेत्रका कर्मचारी निकै अनुशासित देखिन्छन् । तैपनि बेलाबखत तिनै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्छन् । कर्मचारीहरूले प्रत्येक २ वर्षमा आफ्नो सेवासुविधा वृद्धिको माग राख्ने अधिकार छ । तर, कहिलेकाहीं उनीहरूको माग पुरा नहुन सक्छ । त्यतिबेला कर्मचारीहरू आन्दोलित हुने स्थिति आउँछ । तर, नबिल बैंकका कर्मचारीहरू भने आन्दोलनमा चासो राख्दैनन् । ‘कुनै समस्या आयो भने संवादका माध्यमबाट टुंग्याइन्छ, यदि कर्मचारी आन्दोलित भए संस्था बिग्रिन्छ, संस्था बिग्रिएपछि अन्ततः कर्मचारीलाई नै घाटा हुने हो, त्यसैले नबिलमा कुनै पनि किसिमका आन्दोनल ठप्प छन्,’ उनले भने । ‘जुन कर्मचारी चुनौतीसँग बढी जुध्न सक्छ, जाेसँग क्षमता धेरै छ, जिम्मेवारी पनि बढी दिएको छ र उचित मूल्याङ्कन गरेको छ भने १०/२० हजार तलब वृद्धिले अर्थ राख्दैन । जिम्मेवारी थप गर्दा पनि प्रोत्साहित गर्छ,’ जनशक्ति विभाग प्रमुख कार्कीले विभिन्न कर्मचारीका अनुभव सुनाउँदै भने, ‘आफूले गरेको काम अनुसार सेवा सुविधा पाएको छ कि छैन भनेर बाह्य रूपमा पनि तुलना गर्छ । अरू संस्थामा आफूसरह काम गरेको कर्मचारीले धेरै सुविधा पाएको छ भनेर हेरिरहेको हुन्छ, यसलाई पनि सन्तुलनमा राख्नुपर्छ ।’ कर्मचारीले पाउने सेवासुविधा र कार्यसम्पादन क्षमतामा पारदर्शी भएर सन्तुलन कायम राखेको उनले बताए । सेवासुविधा र कार्यसम्पादनमा सन्तुलन कायम राख्न प्रक्रियागत र वितरणगत न्याय पारदर्शी र न्यायोचित छ भने कर्मचारी सन्तुष्ट हुने उनको भनाइ छ । कर्मचारीलाई योगा कर्मचारी संस्थाका मेरूदण्ड हुन् । त्यसैले उनीहरू मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्छ । बैंकले शारीरिक र मानसिक दुवै रूपमा फिट बनाउन विभिन्न गतिविधि गर्दै आएको छ । आर्ट अफ लिभिङ फाउण्डेसनसँग सम्झौता गरेर बैंकले कर्मचारीलाई रिफ्रेस गराइरहेको छ । ‘व्यावसायिक वृद्धिका साथै स्वास्थ्य पनि महत्त्वपूर्ण हो, कामको बोझलाई कम गर्न रिफ्रेसका लागि योगा अभ्यास, मेडिटेसन पनि गर्नुहन्छ,’ जनशक्ति विभाग प्रमुख कार्कीले भने, ‘जस्तो काम गर्दैगर्दा दवाव भयो भने आँखा चिम्म गरेर लामो स्वास लिँदा केही सहज हुन्छ । महिला दिवसका अवसरमा ‘वेमन इन मोसन’ को नारा दिएर महिला कर्मचारीहरूलाई सेल्फ डिफेन्सको तालिम पनि दिएका छौं ।’
सेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन, उतारचढाव हुँदै २६ अकंको गिरावट
काठमाडौं । सेयर बजारमा रौनकता एक दिन पनि टिक्न सकेको छैन । मंगलबार ११४ अंक बढेको सेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अंकले घटेर २ हजार ५९७.४९ अंकमा बन्द भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात् ११४.७० अंक बढेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेका अनुसार आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ८३ हजार ८१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो मंगलबार ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार फाइनान्स समूहबाहेक अन्य सबै समूह राताम्य बनेका छन् । फाइनान्स समूह १.७५ प्रतिशत बढेको छ । बैंकिङ समूह ०.७१ प्रतिशत, विकास बैंक समूह १.३८ प्रतिशत, होटल तथा पर्यटन समूह १.७९ प्रतिशत, जलविद्युत समूह १.७४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह ०.४० प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७९ प्रतिशत, लघुवित्त समूह १.१२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४१ प्रतिशत, निर्जीवन बीमा समूह १.८२ प्रतिशत, अन्य समूह ०.०३ प्रतिशत र व्यापार समूह १.१८ प्रतिशत घटेको छ । बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ८०.३० रुपैयाँ बढेर ८८३.३० रुपैयाँ पुगेको छ । यस्तै, स्वरोजगार लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशत, इस्टर्न हाइड्रोको ९.४५ प्रतिशत, अपर हेवाखोला हाइड्रोको ८.०२ प्रतिशत बढेको नेप्सेले जनाएको छ । तर, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५० रुपैयाँ घटेको छ । कारोबारका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको भएको छ । कम्पनीको २० करोड ७१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको १५ करोड २७ लाख रुपैयाँ र शिवम सिमेन्टको १३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।