कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले आफ्नो २४औँ वार्षिक साधारणसभा माघ २१ गतेका लागि बोलाएको हो । सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहान ११ बजेदेखि हुनेछ । साधारणसभा प्रयोजनाका लागि माघ ११ गते बुक क्लोज हुनेछ । साधारणसभामा हुने छलफलका विषय यसप्रकार छन् १. सञ्चालक समितिको आव २०८०/८१ वार्षिक प्रतिवेदन पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वार्षिक आर्थिक विवरण  २०८१ आषाढ मसान्तसम्मको वासलात, आव २०८०/०८१ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबिएल सेक्यूरिटिज लिको आव २०८०/०८१ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण पारित गर्ने । ४. आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । ख. विविध ।

सेयर कर्जा १९ प्रतिशतले वृद्धि, बजार मूल्यमा प्रभाव शून्य

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा बढी सेयर कर्जा विस्तार भएको छ । साउनदेखि मंसिरसम्ममा मार्जिन प्रकृतिको कर्जा १९.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सेयर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भए पनि सेयर मूल्यमा भने प्रभाव देखिएको छैन । थोरै सेयर पुँजी भएका कम्पनीहरूको सेयर मूल्य अधिक भएपनि ठूलो पुँजी आधार भएको बैंक तथा कम्पनीहरूको सेयर मूल्य निकै कम रहेको छ । सेयरकर्जाको तुलनामा अन्य क्षेत्रमा जाने कर्जा विस्तार कम दरले विस्तार भएको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले बढेको छ । तर कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले घटेको छ । सरकार र राष्ट्र बैंकले कृषि कर्जामा जोड दिए पनि यस तर्फको कर्जा ऋणात्मक भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ । व्याजदर घट्दा पनि कर्जाको माग नहुँदा सबैतिर चिन्ता फैलिएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैंकहरुको २.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ । कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६.१ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो। बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४७.३ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ११.१ प्रतिशतले घटेको छ । २०८१ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत, विकास बैंकहरूको ५.७५ प्रतिशत र वित्त कम्पनीहरुको ६.७० प्रतिशत रहेको छ । त्यसैगरी, २०८१ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत, विकास बैंकहरूको १०.२६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४८ प्रतिशत रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.८५ प्रतिशत, विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरूको १४.३० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. १७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३ प्रतिशत रहेको छ । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ। आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते सेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आइपीओ निष्काशन गर्ने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । नेपाल माइक्रो नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त बीम कम्पनी हो । चितवनको भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।