हिमालयन बैंकको ३२ औं साधारण सभा सम्पन्न, खुद आम्दानी १ अर्ब माथि

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३२ औं साधारण सभा सम्पन्न सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ । अध्यक्ष श्रेष्ठले सेयरधनीहरूलाई बैंकको दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आवबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए । यसका साथै बैंकले नयाँसडकमा पनि आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए। अध्यक्ष श्रेष्ठले आव २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ रहेको र अन्य आम्दानी गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड उनान्चालिस लाख एक हजार रुपैयाँ रहेको जानकारी दिए । जसमध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको बैंकले जनाएकाे छ । यसैगरी, बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको जानकारी गराए । सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः ३ खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख र ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले २ अर्ब ८८ करोड ५४ लाखमात्र सञ्चालन मुनाफा आर्जन गरेको र खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाखमा सीमित भएको जानकारी श्रेष्ठले जानकारी दिए । यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट रु १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आवको नाफामा सहयोग पुग्ने विश्वास दिलाए ।

शिवम् सिमेन्टको साधारणबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको उद्योगले जनाएको छ । काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सोमबार सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरण समेत पारित गरेको छ । यसैगरी साधारण सभाले आगामी आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभाले बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता र जारी पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ पुर्‍याउने निर्णय समेत पारित गरेको छ ।

राष्ट्रिय कृषि कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाईं र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘माटोदेखि सफलतासम’ भन्ने यसको मूल नाराका साथ २०८१ साल वैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको स्थापना भएको हो । कम्पनीले कृषिलाई सजायको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । कम्पनीले कृषिको ई-कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापनाजस्ता महत्त्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ । दीर्घकालीन लक्ष्यहरूलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ । लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढी प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ । शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ । अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ रहेकोमा भविष्यमा ५० करोड रुपैयाँ जारी पूँजी पुर्‍याउने योजना रहेको यस कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापकहरू आवद्ध भइसकेका छन् ।