सेयर बजारमा छायो हरियाली, ६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहारो अंकले बढेको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २२६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३१२ कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २९ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, साहस ऊर्जाको १३ करोड ६५ लाख, पीपुल्स हाइड्रोपावर कम्पनीको १३ करोड ५८ लाख, डोटी पावर कम्पनीको १२ करोड २ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७० प्रतिशत, साहास ऊर्जा लिमिटेडको सेयर मूल्य ८.७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै, आज सबै उपसमूहको सेयर हरियाे रहेकाे नेप्सेले जनाएको छ ।

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बीउ पुँजीसहित) नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकरण भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबा नेप्सेमा सूचीकृत भएको हो । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई बैंकको साधारण सभाबाट १०.६५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको  आर्थिक वर्ष २०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ’ को आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गर्यो । सभाले बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले सभा समक्ष पेस गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित/स्वीकृत गरेको बैकले जनाएको छ ।