ज्योति विकास बैंकले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीहरूको हात खाली हुने भएको छ। बैंकले उक्त आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वाषिृक साधारणसभामा पेस गरेर अनुमोदन गरिने बैंकले जनाएको छ ।
१० प्रतिशत लाभांश वितरण गर्ने डिप्रोक्स लघुवित्तको घोषणा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२.७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १७ करोड ६ लाख १९ हजार ६९८.२७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा ९.५ प्रतिशतले हुन आउने १६ करोड २० लाख ८८ हजार ७१३.३६ रुपैयाँबराबरको बोसन सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ८५ लाख ३० हजार ९४८.९१ रुपैयाँबराबरको नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेर बन्द भएको छ । हिजो पाँच दिनपछि बढेको नेप्से आज घटेको हो । बिहीबार ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३०४ वटा कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये, सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनी लिमिटेडले गरेको छ । जानकीले २६ करोड १२ लाख रुपैयाँ बढीको कारोबार गरेको हो । यस्तै, सर्वोत्तम सिमेन्ट लिमिटेडले २१ करोड ५२ लाख, जोशी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीले १५ करोड २२ लाख, मोलुङ हाइड्राेपावर कम्पनी लिमिटेडले १४ करोड १५ लाख र युनाइटेड आईडी मर्दी हाइड्रोपावरले १३ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार गरेका छन् । आज म्युचुअल फन्ड र उत्पादन तथा प्रशाेधनबाहेक सबै उपसमूह राताम्ये छन् ।