दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेर बन्द भएको छ । हिजो पाँच दिनपछि बढेको नेप्से आज घटेको हो । बिहीबार ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३०४ वटा कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये, सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनी लिमिटेडले गरेको छ । जानकीले २६ करोड १२ लाख रुपैयाँ बढीको कारोबार गरेको हो । यस्तै, सर्वोत्तम सिमेन्ट लिमिटेडले २१ करोड ५२ लाख, जोशी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीले १५ करोड २२ लाख, मोलुङ हाइड्राेपावर कम्पनी लिमिटेडले १४ करोड १५ लाख र युनाइटेड आईडी मर्दी हाइड्रोपावरले १३ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार गरेका छन् । आज म्युचुअल फन्ड र उत्पादन तथा प्रशाेधनबाहेक सबै उपसमूह राताम्ये छन् ।

नबिल बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बिहीबार सम्पन्न बैंकको ४०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समग्रमा आव २०८०/८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ०२ करोड पुगेको हो  । त्यस्तै, साधारण सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । नबिलले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांश, बजार पुँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा, शेयरधनीहरूले बैंकमा सुरु लगानी गर्दाको स्थापनाकालको चुक्ता पुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको छ । बैंकले गत वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट नेशनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट (गोल्ड अवार्ड), साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्सबाट मेरिट सर्टिफिकेट (बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट) लगायतका सम्मानहरू पनि प्राप्त गरेको छ । त्यस्तै गरी, नबिल बैंक यो वर्ष आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । योसहित बैंकले वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ आठौं पटक यो सम्मान प्राप्त गर्न सफल भएको हो । नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसीनबाट सेवा प्रदान गर्दै आएको छ । यसका २४ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

आरम्भ चौतारी लघुवित्तले यस वर्ष पनि लाभांश नदिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । कम्पनीले पछिल्लो आव २०७७/७८ मा २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसपछिका वर्ष भने लाभांश वितरण गरेको छैन ।