सेयर बजारमा ४ अर्ब ४१ करोड बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको छ । मंगलबार ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । साथै, ३०३ वटा कम्पनीको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये, सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको भएको छ । एनआरएनको १८ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस्तै, सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १७ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ११ करोड २७ लाख रुपैयाँ र नेपाल एसबिआइ बैंकको १० करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै कम्पनीहरूमा नकारात्मक सर्किट लागेको छ । साथै, ४ वटा उपसमूहबाहेक अरू बाँकी उपसमूह राताम्मे रहेका छन् । होटल तथा पर्यटन ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशत, माइक्रोफाइनान्स सूचक ०.३३ प्रतिशत र व्यापार सूचक ०.३३ प्रतिशतले उपसमूह बढेका छन् ।

आइसीएफसी फाइनान्सको लाभांश घोषणा

काठमाडौं । आइसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । मंसिर २५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

१० प्रतिशत लाभांश वितरण गर्ने सानिमा माई हाइड्रोपावरको घोषणा

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् । सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने समेत निर्णय गरेको छ ।