धौलागिरी लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश सेयर (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने
काठमाडौं । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । सरकारले उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द हुनेछ ।