श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले १० प्रतिशत आईपीओ जारी गर्ने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा सतिसचन्द श्रेष्ठसहित ५ जना सदस्य रहने गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । साथै सञ्चालन समिति सदस्यको रूपमा मौशुमी श्रेष्ठ, कमलप्रसाद नेपाल, पोषकराज पौड्याल, रामकृष्ण खतिवडा र स्वतन्त्र सञ्चालक सदस्यको रूपमा अमरबहादुर थिंगलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी, कम्पनीको कूल चुक्ता पुँजीको १० प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।
दुई कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा पुस १ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको बोनश सेयर सूचिकृत भएको हो । भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने २ लाख २८ हजार ८२६ कित्ता बोनश सेयर सूचिकृत भएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने ४२ लाख ९६ हजार कित्ता बोनश सेयर सूचिकृत भएको हो ।
दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा झरेको छ । सोमबार १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । साथै, ३०४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको भएको छ । एनआरएनको २६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १८ करोड ४९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १५ करोड २३ लाख रुपैयाँ र नेपाल फाइनान्सको १२ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सबै उपसमूह राताम्मे रहेको नेप्सेले जनाएको छ ।