नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन् । आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।
लक्ष्मी सनराइजको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २४ गते कमलपोखरी, काठमाडौंमा २४ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
हिमालयन बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।