यी तीन कम्पनीहरूले लाभांश वितरण नगर्ने

काठमाडौं । नेप्सेमा सूचीकृत थप ३ कम्पनीहरूले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् । पुस ३ गते बसेको कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठक र पुस ४ गते बसेको विजय लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । यी कम्पनीहरूले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन् ।

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ । साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

१० प्रतिशत लाभांश वितरण गर्ने सर्वोत्तम सिमेन्टको घोषणा

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।