कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने- रोकिएको आईपीओ समयमै आउँछ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउन थाल्ने दावी गरेका छन् । बुधबार बोर्डमा कार्यभार सम्हाल्दै उनले यस्तो दावी गरेका हुन् । अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने पनि बताए । साथै उनले आफ्नो कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । नवनियुक्त अध्यक्ष श्रेष्ठले मंगलबार शपथ लिएका थिए । उनलाई अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराएका हुन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंसमेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहँदै आएको थियाे ।
एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस १२ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायमसेयरधनीहरु मात्रै साधारण सभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज सेयरधनी बने सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश पाइने
काठमाडौं । सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मसिर १२ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ ।