गरिमा क्यापिटलको गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला
काठमाडौं । गरिमा क्यापिटलले आज पुस ७ गतेदेखि पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना बिक्री खुला गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
कर्जा सूचना केन्द्रले १० प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश घोषणा गरेको छ । कर्जा सूचना केन्द्रको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कर्जा सूचना केन्द्रले प्रतिसेयर १० रुपैयाँ अर्थात् चुक्ता पुँजीको १० प्रतिशतका दरले ४ करोड ३६ लाख २५ हजार ३८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा बिहान साढे ११ बजे २०औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक ३ लाख रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्नेछ । अघिल्लो वर्ष कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ अर्थात् चुक्ता पुँजीको २० प्रतिशतका दरले ८ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो ।
३.१६ प्रतिशत लाभांश बाँड्ने ज्योतिको घोषणा
काठमाडौं । ज्योति क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ३.१६ प्रतिशतका दरले ६६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस २६ गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ९ बजे काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सञ्चालक समिति बैठकबाट नियुक्त भएका २ जना स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।