निफ्राको ६.३१ प्रतिशत लाभांश गायब, के भन्छन् बैंकका सीईओ ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को लाभांश गायब भएको छ । बैंक सञ्चालक समितिको गत भदौ १९ गते बसेको बैठकले प्रस्ताव गरेको ६.३१ प्रतिशत गायव भएको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो । लाभांश प्रस्ताव गरेको साढे २ महिनापछि बोलाएको साधारण सभामा उक्त लाभांश प्रस्ताव छैन। बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले सातौं वार्षिक साधारण सभा मंसिर २३ गते बिहान ९ बजे बत्तीसपुतली काठमाडौंमा डाकेको छ । तर, बैंकले प्रकाशित गरेको साधारण सभा सम्बन्धि सूचनामा लाभांश प्रस्ताव नै छैन । बैंकको सभामा गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरिक्षक बीआरएस न्यौपानोलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव छ । साथै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरूको लागि निर्वाचन गर्ने अजेण्डा छ । तर, बैंक सञ्चालक समितिको गत भदौ १९ गतेको बैठकले प्रस्ताव गरेको लाभांशको एजेन्डा सार्वजनिक सूचनामा उल्लेख छैन । बैंककी सञ्चालक लिमा अधिकारीले घोषणा गरिसकेको लाभांश फिर्ता नहुने बताउँछिन् । साधारण सभामा सबैभन्दा बढी प्रश्न उठ्ने विषय लाभांश भएकाले फिर्ता हुन नसक्ने उनको भनाइ छ । ‘यदि घोषणा गरेको छ भने आइहाल्छ । यदि दिएन भने लाभांशको विषयमा सबैले सोधिहाल्नु हुन्छ । सबैभन्दा धेरै प्रश्न नै लाभांशका विषयमा उठ्छ । पहिला नै यति बाँडेर जान्छौं भनेर सार्वजनिक गरेपछि त्यो फिर्ता हुन सक्दैन,’ उनले भनिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी लाभांश वितरण गर्ने बताउँछन् । साधारण सभामा लाभांशको एजेन्डा छुटेको हुन सक्ने भएकाले त्यसलाई सच्याउने उनले बताए ।
ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिइएको कम्पनीले जनाएको छ । उक्त सम्झौता सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा छुट्याउने तयारी गरेको छ । कम्पनीले कास्की जिल्लास्थित ईदी खोलामा निर्माण गरेको ‘इदी खोला जलविद्युत योजना’ बाट २०८२ बैशाख ८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । जलविद्युत, बैंकिङ, बिमा तथा पूँजी बजार क्षेत्रका अनुभवी व्यक्तिहरूको सहभागितामा बनेको यस आयोजनालाई हाइड्रोलोजी क्यु–६५ को संरचनामा निर्माण गरिएको कम्पनीले जनाएको छ । ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थका अनुसार कम्पनीले आगामी दिनमा अन्य जलविद्युत आयोजनासँगै सौर्य तथा हरित ऊर्जामा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ ।
बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २५५० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३५ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै शिवम् सिमेन्टको १६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड ८० लाख, राधी विद्युत कम्पनीको १५ करोड ३२ लाख र युनियन हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बन्दीपुर केबलकारको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सोमबारको कारोबारमा समूहमा नन लाइफ इन्स्योरेन्स र अन्यको सूचक बाहेक अरु सबै सूचक बढेका छन् । बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशतले बढेका छन् ।