६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९५ अंकले घटेर २५४३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२९ कम्पनीको ७४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हिमालयन डिस्टीलरीको १३ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १२ करोड ७० लाख, युनियन हाइड्रोको १२ करोड ४२ लाख  र साहस ऊर्जाको १२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी र श्वेत गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी र बुंगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यसैगरी बन्दिपुर केबलकार र  रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । बिहीबारको कारोबारमा समूहगत सूचकमा बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशतले बढेका छन् । अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशतले घटेका छन् ।   

कुमारी बैंकले लाभांश नदिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो । बैंकको हालको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । वार्षिक साधारण सभाको मिति र बुक क्लोज हुने मिति भने हालसम्म तोकिएको छैन ।

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।  साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए । साथै बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।  साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि, कर्मचारी समेतको उपस्थिति रहेको थियो ।