सेयर बजारमा सामान्य गिरावट, नेप्से २५४० बिन्दुमा
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५४० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १०.७५ प्रतिशत एसबीएल डिभेन्चर २०८९ को २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको २१ करोड, माउन्टेन इनर्जीको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड र युनियन हाइड्रोको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारका समूहगत सूचकमा होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशतले बढेको छ । बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशतले घटेको छ ।
सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सर्वोत्तम सिमेन्टको घोषणा
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम ४ अर्ब ९७ करोड ५५ लाख चुक्ता पूँजी मध्येबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जसको रकम २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबर पर्छ । त्यस्तै १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ, जसको रकम ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको छ । यससँगै सर्वोत्तम सिमेन्टले प्रस्ताव गरेको कुल लाभांश रकम ९९ करोड ५१ लाख रुपैयाँ बराबर हुने कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी गराएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर र आशा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।