आजसम्म सेयरधनी बने यी २ कम्पनीको लाभांश पाइने
काठमाडौं । सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज मंसिर ४ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म र साहस उर्जाले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कामय सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । सोल्टी होटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १६.५७ प्रतिशत नगद गरी ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न होटलले मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा ५१ औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । यस्तै, साहस उर्जाले गत आव २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१० प्रतिशत नगद गरी कुल २२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर २४ गते कार्की व्याङक्वेट काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बिहान ११ बजे डाकेको छ ।
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ७७ करोडको कारोबार
काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज नेप्से परिसूचक ४ दशलमव ९८ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ । आज ३३८ कम्पनीको ८३ करोड ८८ लाख ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यसैगरी, साहस उर्जाको १९ करोड ६० लाख रुपैयाँ र राधि विद्युत कम्पनीको १५ करोड ९४लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुंगल हाइड्रो, हिम स्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशतले बढेकाे छ । त्यसैगरी विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घट्यो । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशतले घटेकाे नेप्सेले जनाएकाे छ ।
ङादी ग्रुप पावरको लाभांश घोषणा
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांश पारित गरी वितरणका लागि कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा हुनेछ । साधारण सभाले लाभांश प्रस्ताव पारित गर्नेबाहेक, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । साथै, कम्पनीले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन तथा समितिबाट भएका निर्णय र कार्य अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।