धितोपत्र बोर्डको निर्देशनले इन्भेष्टमेन्ट कम्पनी सकसमा, धमाधम सेयर बिक्री गर्नुपर्ने बाध्यता
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको मंसिर ३ गते बसेको सञ्चालक समिति बैठकले एउटा निर्णय गर्याे ९ वटा बैंक, बीमा र लघुवित्त वित्तीय संस्थको सेयर बिक्री गर्ने । कम्पनी सचिव प्रताप अधिकारीका अनुसार कुमारी बैंक, नेशनल माईक्रोफाइनान्स लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त, मेरो माईक्रोफाइनान्स लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (तत्कालीन महालक्ष्मी लाइफ), हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेशनल फण्ड म्यानेजमेन्ट र नेशनल लघुवित्तमा रहेको सेयर बिक्री गर्ने निर्णय भएको छ । रकम आवश्यक परेर एनआरएनले सेयर बिक्री गर्न लागेको भने होइन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत असार ९ गते जारी गरेको एक निर्देशनका कारण बाध्य भएर ती कम्पनीको सेयर बिक्री गर्नु परेको अधिकारीले बताए । उनका अनुसार कुमारी बैंकको ५ लाख ३० हजार कित्ता, नेशनल माईक्रोफाइनान्सको १ लाख ७ हजार ४८४ कित्ता, नेरुडे मिर्मिरेको ७४ हजार १०६ कित्ता, मेरो माईक्रोफाइनान्सको १ लाख ६ हजार ४२४ कित्ता (२८ हजार २१५ कित्ता साधारण सेयरसहित), प्रभु महालक्ष्मीको ५ लाख ९४ हजार कित्ता, हाइड्रोइलेक्ट्रिसिटिको ४० हजार १ कित्ता, नेशनल फण्डको २ लाख २५ हजार कित्ता र नेशनल लघुवित्तको १ कित्ता गरी १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्रीमा राखिने छ । गत असार ९ गते धितोपत्र बोर्डले उर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संस्थाको संस्थापक सेयर बाहेक अन्य सेयर र आईपीओ प्राथमिक तथा दोस्रो बजार मार्फत खरिद नगर्न निर्देश दिएको थियो । साथै, यी बाहेक क्षेत्रमा लगानी गरिएको सेयर ६ महिनाभित्र बिक्री गर्न बोर्डले निर्देशन छ । धितोपत्र बोर्डको निर्देशनले लगानी गर्ने उद्देश्य राखेर सेयर बजारमा सूचीकृत रहेका एनआरएनसहित सीईडीबी होल्डिङ्गस, इमर्जीङ नेपाल र हाथवे इन्भेष्टमेन्ट नेपाललाई पनि यतिबेला तोकिएका क्षेत्र बाहेकका कम्पनीमा रहेको सेयर बिक्री गर्नुपर्ने बाध्यता छ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन्जन फुयालका अनुसार धितोपत्र बोर्डको निर्देशन बमोजिम सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो । बोर्डले तोकेको क्षेत्रभन्दा बाहिरि रहेका सेयर बिक्रीमा राखिएको उनको भनाइ छ । ‘केही समय अगाडि धितोपत्र बोर्डले नीति पुनरावलोकन गरेर इन्भेष्टमेन्ट कम्पनीलाई कुन–कुन क्षेत्रमा लगानी गर्ने भनेर क्षेत्र छुट्याएको छ । बोर्डबाट तोकेका क्षेत्रभन्दा बाहिरका सेयर बिक्री गर्न निर्देशन आएको थियो । धितोपत्र बोर्डको निर्देशन बमोजिम नै हामीले उक्त सेयर बिक्रीमा राखेका हौं,’ सीईओ फुयालले भने, ‘सूचीकृत कम्पनीहरुमा लगानी गर्न पाउने हो । तर, बोर्डले तोकेका हस्पिटालिटी, माइनिङ, हाइड्रो लगायत क्षेत्रका कम्पनीमा मात्रै लगानी गर्न पाइन्छ । त्यसकारण वित्तीय क्षेत्रका कम्पनीमा रहेको सेयर बिक्रीमा राखेका हौं ।’ उनका अनुसार एनआरएनको स्वामित्वमा रहेका सेयर बिक्रीका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा समेत नियुक्त गरिएको छ । अब मुक्तिनाथले लिलामीको सूचना निकालेर सेयर बिक्री प्रक्रिया अगाडि बढाउने उनले बताए । इन्भेष्टमेन्ट कम्पनीले फाइनान्सियल सेक्टरमा लगानी गर्नु राम्रो नमानिने भएकाले धितोपत्र बोर्डको उक्त निर्णय सही रहेको उनको भनाइ छ । ‘तर, यति धेरै संस्थापक सेयर बिक्रीमा राख्दा सहजै रुपमा बिक्री हुँदैन कि भन्ने चिन्ता छ । अहिले प्रमोटरको सेयर खरिदबिक्री पनि असाध्यै न्यून छ । हामी खुला माध्यमबाट नै जान लागेको छौं । तैपनि सहजै रुपमा सेयर बिक्री हुँदैन भन्ने चिन्ता छ,’ उनले भने, ‘६ महिना भित्र बिक्री गरिसक्न भनेको छ । राष्ट्र बैंकको निर्देशिकाले विद्यमान संस्थापकलाई नै ३५ दिनको समय दिनुपर्ने व्यवस्था गरेको छ । यदि प्रमोटरले किनेनन् भने मात्रै सर्वसाधारणका लागि बिक्री खुला गर्नुपर्छ । त्यसैले ६ महिनाभित्र बिक्री गर्न त्यति सम्भव छैन ।’ हाथवे इन्भेष्टमेन्ट नेपालका सीईओ सन्दीप शाह हाथवे इन्भेष्टमेन्टको पनि सेयर बिक्रीका लागि आन्तरिक प्रक्रिया अघि बढाइसकेको बताउँछन् । कम्पनीले आईपीओ जारी गर्नु भन्दा अगाडि नै खरिद गरेको सेयर रहेको सीईओ फुयालको भनाइ छ । ‘हामीले पनि सेयर बिक्रीका लागि आन्तरिक रूपमा छलफल गरिरहेका छौं । बैंक तथा वित्तीय संस्थामा आईपीओ जारी गर्नु भन्दा अगाडि नै सेयर खरिद गरेका हौं । आईपीओ जारी पछि थप लगानी गरेको छैनौं,’ सीईओ फुयालले भने, ‘हाथवेको इतिहास डेढ दशक बढी भइसक्यो । अब कति बिक्री हुन्छन् वा हुँदैनन् हामीले कोशिस गर्ने हो । सेयर बेचेर फाल्नेभन्दा पनि उपयुक्त लगानीकर्ता खोजेर बिक्री गर्न चाहेका छौं ।’ सीईओ फुयालका अनुसार सेयर बिक्रीबाट प्राप्त रकमलाई सञ्चित मुनाफामा जम्मा गरिनेछ । आफूहरू सेयर बिक्रीबाट पछि नहटेको तर, प्रक्रिया लामो भएकाले केही समय लाग्न सक्ने उनको भनाइ छ । ‘हामी बिक्री गर्नमा पछि हटेका छैनाैं । उचित मूल्य पायो भने बिक्री गर्ने हो । बैंक तथा वित्तीय संस्था र बीमाको संस्थापक सेयर बिक्री प्रक्रिया झण्झटिलो छ । बिक्री हुन्छ तर समय लाग्छ,’ सीईओ फुयालले भने,‘हामीले सेयर बिक्री गरेर जाँदा सम्बन्धित कम्पनी बिग्रिनु पनि भएन । सबै विषयलाई मध्यनजर गरेर सेयर बिक्री गर्ने हो ।’ नेपाल धितोपत्र बोर्ड सहायक प्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार उर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित क्षेत्रका कम्पनीमा मात्रै लगानी गर्न पाउने व्यवस्था बमोजिम लगानी कम्पनीलाई आईपीओ जारी गर्न दिएको हो । लगानी कम्पनीले बोर्डको सर्त विपरीत लगानी गरेको भेटिएपछि ६ महिनाभित्र बिक्रीका लागि निर्देशन दिएको उनको भनाइ छ । ‘तत्कालनी समयमा लगानी कम्पनीलाई उर्जा, यातायात र सञ्चार क्षेत्रमा मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । त्यतिले मात्रै नपुग्ने भएपछि ६ वटा क्षेत्र थपेका थियौं । तर, ती कम्पनीले बोर्डले तोकेको नियम उल्लङ्घन गरेपछि सेयर बिक्रीका लागि निर्देशन दिएको हो,’ उनले भने, ‘जुन क्षेत्रमा पुँजी आवश्यक हो, त्यतातिर पुँजी परिचालन होस् भनेर लगानी कम्पनीर्ला कडाई गर्न खोजेकै हो ।’ कुन कम्पनीकाे कति लगानी ? हाथवेले आव २०८१/८२ सम्म चन्द्रागिरि हिल्समा ७ हजार कित्ता साधारण सेयर लगानी गरेको छ । साथै, हाथवेका अनुसार नेपाल वेयर हाउजिङ्ग कम्पनीको १ लाख ५० हजार कित्ता, सानिमा मिडल तमोर हाइड्रोपावरको १ लाख ११ हजार ८३ कित्ता, सर्वोतम सिमेन्टको १ लाख २७ हजार ४५६ कित्ता, मिड सोलु हाइड्रोपावरको १ लाख कित्ता संस्थापक सेयर रहेको छ । कम्पनीका अनुसार सूचिकृत नभएको कम्पनीहरुमा डिस मिडिया नेटवर्कको ८ लाख १३ हजार ५४० कित्ता, लुम्बिनी केवलकारको ६ लाख २७ हजार ३१२ कित्ता, हाइलाइफ एग्रो एण्ड फुड्स ईण्डष्ट्रिजको १० लाख ५० हजार कित्ता, सर्वोत्तम स्टिल्सको १ लाख ८० हजार कित्ता र आध्यन्त फण्ड म्यानेजमेन्टको ५ लाख कित्ता संस्थापक सेयर रहेको कम्पनीले जनाएको छ । इमर्जीङ नेपालले प्रभु हेलिकप्टर, सभा पोखरी हाइड्रोपावर, इमर्जिङ्ग भेन्चर, केयर रेटिङ्ग्स, पिपुल्स इनर्जी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स ईन्स्टिच्यूट अफ नेपाल र होटल एलिस द वण्डर इनमा लगानी गरेको जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा नेपाल इनफ्रास्ट्रक्चर बैँकमा २७ करोड रुपैयाँ, बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपालमा ९९ लाख रुपैयाँ, केयर रेटिङ्ग्समा ५० लाख रुपैयाँ, पिपुल्स इनर्जिमा ५ करोड रुपैयाँ, होटल एलिस द वन्डर इनमा ८ करोड २५ लाख ६२ हजार ७ सय रुपैयाँ, इमर्जिङ्ग भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ र सभा पोखरी हाइड्रोपावरमा २ करोड रुपैयाँ लगानी रहेको छ । सिईडिबि होल्डिङ्ग्सले आर्थिक वर्ष २०८०/८१ सम्ममा एलिभेसन इनर्जी म्यानेजमेन्ट, ईन्स्पायर क्लिन इनर्जी, खारे इन्भेष्टमेन्ट, कसुवा खोला हाइड्रोपावर, राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन, यूनिभर्सल पावर कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी र नेपाल पावर एक्सचेन्जमा लगानी गरेको छ । कम्पनीका अनुसार एलिभेसन इनर्जीमा ९ लाख १९ हजार कित्ता, ईन्स्पायर क्लिनमा ५२ लाख ३३ हजार १६२ कित्ता, खारे इन्भेष्टमेन्टमा ६४ लाख ६० हजार कित्ता, कसुवा खोलामा २ लाख ७ हजार ६३५ रुपैयाँ, राप्ती हाईड्रोमा १ लाख कित्ता, यूनिभर्सल पावरमा ४ लाख ७५ कित्ता, दोर्दी खोलामा १ लाख २० हजार कित्ता र नेपाल पावर एक्सचेन्जमा १० हजार कित्ता सेयर लगानी रहेको छ ।
सुपर मादी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ६० लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी १६औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव निश्चल खरेलले जानकारी दिए ।
१३ प्रतिशत लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो मंसिर २९ गते सेयरधनी भेला
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २९ गते बोडे भक्तपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस वितरण पश्चात् कायम हुने जारी र चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, अविमोच्य असंचिति अग्राधिकार सेयरधनीलाई तोकिए बमोजिम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।