२० प्रतिशत लाभांश बाँड्ने केबिएलको घोषणा
काठमाडौं । केबिएल सेक्यूरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले भदौ २० गते बिहान ११ बजे कुमारी बैंकको प्रमुख कार्यालय टंगाल काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति चयन तथा मनोनयन गर्नेछ ।
२७ हजार ६२२ जना सेयरधनीले पाए एशियन लाइफको हकप्रद सेयर
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । असार २५ गतेदेखि साउन २० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर भदौ ८ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । रितपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना सेयरधनीलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ३ लाख ५८ हजार ५१२ कित्ता सेयर बिक्री हुन नसकेको कम्पनीले जनाएको छ । साथै हक भन्दा बढी माग गरी आवेदन दिएका सेयरधनीहरुको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।
लचिलो नीतिमा बैंकहरू उत्साहित, दोब्बरले बढाए सेयर कर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा खुकुलो नीति अघि सारेपछि बैंकहरूले लगानी ह्वात्तै बढाएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा मार्जिन प्रकृतिको कर्जा (सेयर कर्जा)को सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएसँगै बैंकहरूले पनि सेयरमा लगानी बढाएका हुन् । साथै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । जसले गर्दा पुँजी बजारमा बैंकहरूले खुलेरै लगानी गरेको लगानीकर्ताहरू बताउँछन् । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष ६६.०५ प्रतिशत अर्थात् ४६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । समीक्षा वर्षमा अधिकांश बैंकले सेयरमा लगानी बढाएका छन् भने विभिन्न ८ वटा बैंकको दोब्बरभन्दा बढाएका छन् । गत वर्ष माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै सेयर कर्जा बढाएको छ । गत असारसम्ममा माछापुच्छ्रे बैंकको ४४२.०९ प्रतिशत अर्थात् २ अर्ब ६ करोड रुपैयाँ बढेर २ अर्ब ५३ अर्ब १९ लाख रुपैयाँ लगानी गरेको हो । अघिल्लो वर्ष बैंकले ४६ करोड ७० लाख रुपैयाँ मात्रै सेयर प्रवाह गरेको थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै सेयर कर्जा दिने बैंकमा नबिल अग्रस्थानमा छ । नबिल बैंकको ४६.६८ प्रतिशत अर्थात् ५ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ बढाएर १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ सेयरमा लगानी गरेको हो । जुन वाणिज्य बैंकमा सबैभन्दा धेरै सेयर कर्जा हो । अघिल्लो वर्ष बैंकले ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो । यस्तै, नेपाल एसबिआई बैंकको २०७.१५ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख रुपैयाँ बढाएर ६१ करोड ९१ लाख रुपैयाँ, कृषि विकास बैंकको १९२.६६ प्रतिशत अर्थात् ३ अर्ब ६ करोड ६४ लाख रुपैयाँ बढाएर ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, एनएमबि बैंकको १४४ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बढाएर २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकको १४३.५३ प्रतिशत अर्थात् ४ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ बढाएर ८ अर्ब २५ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकको १३८.४० प्रतिशत अर्थात् ६ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढाएर १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकको १०४.२९ प्रतिशत अर्थात् ४ अर्ब २२ करोड ७७ लाख रुपैयाँ बढाएर ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको १००.५१ प्रतिशत अर्थात् १ अर्ब ६६ करोड रुपैयाँ बढाएर ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि)को ८१.३० प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बढाएर ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६९.७२ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ बढाएर ३ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ६८.०६ प्रतिशत अर्थात् २ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बढाएर ५ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६३.७४ प्रतिशत अर्थात् ४ अर्ब ७९ करोड २० लाख रुपैयाँ बढाएर १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । सिद्धार्थ बैंकको ६०.२९ प्रतिशत अर्थात् ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ बढाएर ९ अर्ब २८ करोठ ७ लाख रुपैयाँ, सिटिजन्स बैंकको ४६.१७ प्रतिशत अर्थात् २ अर्ब २१ करोड ९६ लाख रुपैयाँ बढाएर ७०२६.६२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४४.४९ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ बढाएर ६ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, हिमालयन बैंकको ३४.८८ प्रतिशत अर्थात् ७० करोड १७ लाख रुपैयाँ बढाएर २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ र नेपाल बैंकको १५.९५ प्रतिशत अर्थात् १ अर्ब ८ करोड १५ लाख रुपैयाँ बढाएर ७ अर्ब ८६ करोड २४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । तर, समीक्षा वर्षमा एनआईसी एशिया बैंकले भने सेयरमा कर्जा घटाएको छ । एनआईसी एशियाको ४८.२१ प्रतिशत अर्थात् १ अर्ब ९१ करोड ३८ लाख रुपैयाँ घटाएर २ अर्ब ५ करोड ५२ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको छ ।