बैंकको ऋण तिर्न अरुण काबेली पावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । अरुण काबेली पावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालिन कर्जा आंशिक भुक्तानी गर्न चुक्ता पुँजीको १ बराबर ०.५० (१:०.५०) को अनुपातमा हकप्रद जारी गर्नेछ ।  हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले असोज ३ गते काठमाडौंमा बिहान ११ बजे १५औँ वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  साथै, विभिन्न कम्पनीका संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरूमा लगानी गर्न स्वीकृती प्रदान गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्ध पत्र तथा नियमावलीका दफाहरुमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउने छन् । 

१६ प्रतिशत प्रतिशत लाभांश बाँड्ने सिटिजन्सको घोषणा

काठमाडौं । सिटिजन्स क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १६ प्रतिशत अर्थात् ३ करोड २० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज २ गते द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ । 

आजसम्म सेयरधनी बने हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश पाइने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्टले लाभांश तथा साधारण सभा र एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले लाभांश वितरण प्रयोजनार्थ भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले आज भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न भदौ २५ गते बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १५/१५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् ।