१९ हजार ८०५ ले पाए नेपाल इन्स्योरेन्सको हकप्रद सेयर, भदौ १८ गतेदेखि रकम फिर्ता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको हकप्रद सेयर भदौ १५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको छ । साउन ६ गतेदेखि भदौ २ गतेसम्म बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा १९ हजार ८०५ जना लगानीकर्ताले आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई ६३ लाख ७९ हजार ९२५ कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । कम्पनीको १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको छैन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि आवेदन दिने आवेदकहरूको बाँडफाँडमा नपरेको रकम भदौ १८ गतेदेखि आइपीएस मार्फत् सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गर्ने कम्पनीले जनाएको छ ।
बझाङको बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । बझाङको बुङ्गल हाइड्रोले आज भदौ १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने भदौ ३० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
२२८ कम्पनीको सेयर मूल्य घट्यो, ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ घटेर २७४९ बिन्दुमा झरेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टीलरीको २६ करोड, नेपाल रिपब्लीक मिडियाको २१ करोड र पिपुल्स पावरको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशतले घटेका छन् ।