जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई साउन ६ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
तीन कम्पनीको चार करोड ७८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?
काठमाडौं । आइतबार विभिन्न तीन वाणिज्य तथा विकास बैंकको चार करोड ७८ लाख ६४ हजार ८४३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्सेमा) सूचिकृत भएको छ । नेप्सेमा तीन कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा एक कम्पनीको बोनस र बाँकी दुई कम्पनीको हकप्रद सेयर थपिएको छ । नेरुडे लघुवित्त विकास बैंकको ३ लाख ६० हजार बोनस सेयर थपिएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ३ करोड २० लाख ७३ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । साथै, नेपाल बैंकको पनि १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
नेप्से सामान्य अंकले घट्दा एक अर्ब बढीको कारोबार, तीन कम्पनीको सेयर मूल्य ९% बढीले वृद्धि
काठमाडौं । साताको पहिलो दिनको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ । दिनभर उतारचढाव आएको सेयर बजारमा एक अर्ब चार करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो दिन १५१ कम्पनीको १५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यस्तै, कुबेर मर्चेन्ट एण्ड फाइनान्स र हिमालय जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ९.७० र ९.२० प्रतिशत कमाएका छन् । आइतबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल र विकास बैंक समूहको परिसूचक हरिया भएका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।