सेयर बजारमा ४० करोडको कारोबार, सबैभन्दा बढी चिलिमे हाइड्रोको
काठमाडौं । बिहीबारको सेयर बजारमा ४० करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १५४ कम्पनीको ८ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ७ करोड २० लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीले हालै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार कम्पनीको सेयर कारोबारमा वृद्धि भएको बुझिन्छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३८ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक र नेपाल बैंकको पनि एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४ अंकले बढेर १५१० अंकमा पुगेको छ । बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ कम्पनीको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा अन्य समूहको परिसूचक ३० अंकले उकालो लागेको छ । त्यस्तै, बीमा समूहको परिसूचक २१ अंकले ओरालो लागेको छ ।
मञ्जुश्री फाइनान्सको बिक्री प्रबन्धकमा एस क्यापिटल नियुक्त
काठमाडौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल नियुक्त भएको छ । मञ्जुश्री फाइनान्सले रु.१०० अंकित दरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीको असोज २५ गते सम्पन्न विशेष साधारण सभाले साविक सर्वसाधारण सेयरधनीहरुलाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
आँखुखोला जलविद्युतको ८ करोडको आईपीओ आउँदै, पुससम्ममा निष्कासन गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आउदो २ महिनाभित्र सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दालाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ पुससम्म निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउन बाँकी रहेकाले ढिलोमा पुससम्म आईपीओ निष्कासन गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल पनेरुले बताए । बोर्डले तिहार लगतै स्वीकृति दिने उनले जानकारी दिए । धितोपत्र बोर्डको आउँदो बोर्ड बैठकमा आँखुखोलालाई आईपीओ निष्कासन गर्न दिने प्रस्तावलाई स्वीकृति गर्ने जानकारी पाएको उनले बताए । कम्पनीले ०७३ भदौमा आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । १० प्रतिशत आईपीओ निष्कासन भएपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ आउने उनले जानकारी दिए । यो वर्षभित्र आईपीओ निष्कासन सक्ने योजना कम्पनीको छ । कम्पनीमा २५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले धादिङमा ८.४ मेगावाट क्षमताको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । आयोजना ०७० भदौदेखि सञ्चालनमा आएको हो । आयोजनाबाट वार्षिक ४ करोड ६४ लाख युनिट बिजुली उत्पादन हुन्छ ।