मंगलबारको सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक सामान्य अंकले वृद्धि
काठमाडौं । मंगलबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको करिब पौने घण्टामा परिसूचक घटेर १४९४ अंकमा झरेको थियो भने त्यसपछिको करिब साढे एक घण्टामा परिसूचक फेरि बढेर १५०७ अंकमा पुगेको थियो । अन्तत: कारोबार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ७४ अंकले बढेर १५०२ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ३० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकको एक करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार अन्य, फाइनान्स र विकास बैंक समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा बढी ११ अंकले घटेको छ । त्यस्तै, सो दिन कारोबार भएका बाकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । जानकी फाइनान्सको सेयर मूल्य ३.७७ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्य ३.७० प्रतिशतले घटेको छ ।
ग्लोबल आइएमईको वार्षिक साधारणसभा कात्तिक २३ गते, कहिले देखि बुक क्लोज ?
काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले कात्तिक ८ गतेदेखि कात्तिक २३ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ ।
गुहेश्वरी मर्चेण्टले १९ करोड ७३ लाखको हकप्रद निश्कासन गर्दै, कहिलेदेखि बिक्री खुला ?
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन १९ करोड ७३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको छ । कम्पनीले मंगलबार हकप्रद निश्कासन सम्बन्धि सूचना प्रकाशित गरी कात्तिक १२ देखि मंसिर १८ गतेसम्मका लागि बिक्री खुला गरेको जानकारी दिएको छ । बैंकले १९ करोड ७३ लाख रुपैयाँ बराबरको १९ लाख ७३ हजार कित्ता हकप्रद बिक्री गर्ने भएको छ । बैंकले १० बराबर ४ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापुँजी ६९ करोड रुपैयाँ पुग्ने छ । इच्छुक सेयरधनीले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल क्यापिटल मार्केट्स र गुहेश्वरी मर्चेन्टको सम्पूर्ण शाखा कार्यालयहरु बाट आवेदन भर्न सक्नेछन् । साथै, सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरु बाट हकप्रद सेयर भर्न सक्नेछन् ।