चिलिमे जलविद्युतले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण  गर्ने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको ३३७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २१औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ४४ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ रहेको छ ।

नेप्से ३२ अंकले ओरालो, सबै समूह राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक ३२ अंकले ओरालो लागेको छ । साताको पहिलो दिनको नेप्से कारोबार शुरु भएदेखि निरन्तर दोहोरो अंकले ओरालो लागिरहेको थियो । बजार खुलेको करिब साढे दुई घण्टामा नेप्से ५० अंकले घटेको थियो । त्यसपछिको कारोबारमा भने केहि सामान्य सुधार देखिएको छ । र बजार बन्द हुँदा नेप्से ३२ अंकले घटेर १५१०.०१ अंकमा पुगेको छ । दोहोरो अंकले घटेको बजारमा ४१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी जनता बैंक नेपालको एक करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५२ कम्पनीको ९ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबार भएका ९ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १९३ अंकले ओरालो लागेको छ । त्यस्तै, ट्रेडिङ र अन्य समूहको परिसूचक क्रमशः ९ र ५ अंकले घटेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, स्वावलम्बन विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य ७/७ प्रतिशतले घटेको छ । धितोपत्र ब्रोकर्स एशोसिएनको पूर्व अध्यक्ष नरेन्द्र सिजापतिका अनुसार सेयर बजारमा राजनीति प्रवाह परेकाले सेयर बजार निरन्तर घट्दै गएको हो । नेकपा एमाले, माओबादी केन्द्र लगायत कम्युनिष्ट पार्टीहरु एक भएर चुनाव लड्ने घोषणासँगै सेयर बजार तीब्र रुपमा ओरालो लागेको उनी बताउँछन् ।

अपडेट: सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार १ बजेर ३ मिनेट जाँदा बजार ४२ दशमलब ८३ अंकले ओरालो लागेको छ । सो अवधीमा १३४ कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।   नेप्सका सबै परिसूचक रातै देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २५३ अंकले ओरालो लागेको छ । उत्पादन मुलक समुह ९ अंकले ओरालो लागेको छ भने कारोबार भएका बाँकी सबै समुहको सूचक दोहोरो अंकले घटेको छ ।