काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ः१ हकप्रद निष्कासन गर्ने, कात्तिक ९ गते बुक क्लोज
काठमाडौं, १ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोहि प्रयोजनको लागि कात्तिक ९ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ५ सय रुपैयाँमा कारोबार भएको छ ।
ओम र मनास्लु एक आपसमा गाभिने, पूँजी एक अर्ब ६८ करोड रुपैयाँ पुग्ने
काठमाडौं, १ कात्तिक । ओम डेभलपमेण्ट बैंक र मनास्लु विकास बैंक एक अर्काबीच गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने नीतिपति यी दुई संस्था एकआपसमा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने बैंकको नाम ओम डेभलपमेण्ट बैंक रहने छ । अध्यक्षमा ओमका अध्यक्ष सुशीलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा ओमकै विश्वमोहन अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृतमा ओमकै बुद्धि मल्ल रहने समेत सहमति भएको छ । सहायक महाप्रबन्धकमा भने मनास्लुका निमित्त महाप्रबन्धक दुर्गाराम पुरी रहनेछन् । मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड, कर्जा १२ अर्ब ६१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । साथै मजैपछि बैंकको ३६ वटा शाखा हुनेछन् । मर्जरपछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ । हालै ओमको सञ्चालक समितिले २९ दशमलव २० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८ दशमलव ९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारणसभाले दुबै संस्थाको बोनस पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।
आरएसडीसी लघुवित्तको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड
काठमाडौं, ३० असोज । आरएसडीसी लघुवित्त बिकास बैंकले जारी गरेको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सो मात्रामा साधारण सेयर बाँडफाँड भएको हो । उक्त सेयर आवेदकहरुले न्युनत्तम ११ कित्तादेखि शून्य दशमलब ३८ प्रतिशतसम्म शेयर पाएका छन् । ५ हजार रुपैयाँ वा ५० कित्तादेखी २ लाख ५५ हजार रुपैयाँ वा २५५० कित्ता शेयरमा आवेदन दिनेहरु गोलाप्रथाबाट छानिएका छन् । उनीहरुले १० कित्ताको दरमा शेयर पाएका छन् । त्यस्तै, २५६० कित्ता देखि ४ हजार कित्ता शेयरको लागि आवेदन दिनेले ११ देखि १४ कित्तासम्म शेयर पाएका छन् । यो वर्गकालाई शून्य दशमलब ३५ देखि शून्य दशमलब ३८ प्रतिशतको दरमा शेयर बाँडफाँड गरिएको हो । हाल बैंकको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।