सिद्धार्थ बैंकले फेरी १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । सिद्धार्थ बैंकले फेरी १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आजै (बिहीबार)बाट ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको बैंकले थप १० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सो निर्णय पारित गर्नको लागि बैंठकले आगामी असार १८ गते कम्पनीको विशेष साधारण सभा बोलाएको छ । बैंकले हालै जारी गरेको ३० प्रतिशत पश्चात बन्ने पूँजीमा थप १० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । जसमा फेरि १० प्रतिशत हकप्रद जारी गरे पश्चात बैंकको पूँजी ७ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।
ग्लोबल आइएमई बैंकको असार १ गते बुक क्लोज
काठमाडौं । ग्लोबल आइएमई बैंकले आगामी असार १ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निणर्य बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनी आगामी असार ९ गते विशेष साधारणसभा बस्दै छ । सो प्रयोजनको लागि असार १ गते कम्पनीको बुक क्लोज हुने भएको हो ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूह राताम्मे
काठमाडौं । साताको अन्तिम दिन(बिहीबार)को सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिन परिसूचक ७ दशमलब ९४ अंकले ओरालो लागेर १६१५ अंकमा झरेको छ । बजारमा जम्मा ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २८ करोड रुपैयाँ घटी हो । बिहीबार १४९ कम्पनीको ८ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ । ७ अंकले घटेको बजारमा कारोबार भएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ४० अंकले ओरालो लागेको छ । त्यस्तै, बीमा र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ३९ र १७ अंकले झरेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।