नेप्से परिसूचक दोहोरो अंकले उकालो, एक अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार सामान्य अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले उकालो लागेकोे छ । सोमबार परिसूचक २४ दशमलब ६२ अंकले उकालो लागेर १६७६ दशमलब २२ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सोमबारको सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिन एक अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबारको तुलनामा ४० करोड ९७ लाख रुपैयाँ बढी हो । सोमबार १४४ कम्पनीको २९ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबारको बजारमा पनि नेपाल बैंक लि. को सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको १३ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा एक रुपैयाँले घटी हो । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ रहेको थियो । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य ११८० रुपैयाँ रहेको छ । बजारमा कारोबार भएका ८ वटा समूह सूचक मध्ये अन्य समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २०१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, डेभलपमेन्ट बैंक, हाइड्रो र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले बढेका छन् । उता अन्य समूहको परिसूचक भने १.७४ अंकले ओरालो लागेको छ ।

सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०५९ रुपैयाँ

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १०१३ रुपैयाँ रहने भएको छ ।

महुली लघुवित्तको ३० प्रतिशत साधारण सेयर निष्कासन, ६०० कित्तासम्म मात्रै पाइने

काठमााडौं । सप्तरीमा केन्द्रीय कार्यालय रहेकाे महुली सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत साधारण सेयर निष्कासन गरेको छ । यो संस्थाले ४ करोड पुँजीमा ३० प्रतिशत थप गर्ने उद्देश्यले १ करोड २० लाख रुपैयाँको १ लाख २० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको छ । प्रति कित्ता एक सय रुपैयाँ अंकित यो सेयर मध्ये ४८ सय कित्ता अर्थात ४ प्रतिशत कर्मचारीलाई र ६ हजार कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषका लािग सुरक्षित राखेको छ । बाँकी १ लाख ९ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गरेको वित्तीय संस्थाले जानकारी दिएको छ । यो संस्थाको सेयर खुला आगामी बैशाख ७ गतेबाट छिटोमा ११ गतेसम्म हुने छ । ढिलोमा २१ गतेसम्मलाई खुला हुन सक्ने पनि उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेण्ड बैंकिङ लिमिटेड हो । यसको आवेदन दिन सनराइज बैंक, एनसीएम मर्चेण्ड बैंकिङ र महुलीकै विभिन्न शाखाबाट आवेदन दिन सकिने पनि उल्लेख छ ।