प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १२.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७२६.७९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५५१.११ रुपैयाँ रहेको थियो ।

उन्नति माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद जारी गर्ने, आगामी चैत ६ गते बुक क्लोज

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन २९ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजीको ४ बराबर १ को अनुपातमा सेयर जारी गर्न लागेको हो । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरको एक लाख ३७ हजार ५ सेयर कित्ता सेयर निष्कासन गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ६ करोड ८७ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीले एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । आगामी चैत २१ गते यस संस्था आफ्नो तेश्रो वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले चैत ६ गते बुक क्लोज गर्दै छ ।

इन्भेष्टर्स फोरम तातेपछि सेयर बजारमा सुधार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको काराेबार

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सोमबार सेयरधितो कर्जा सीमा बढाउन सरकारसँग माग गरेपछिको मंगलबारको सेयर बजारमा सुधार भएको छ । फोरमले सेयर बजार निरन्तर घट्दै गएपछि सोमबार सेयरधितो कर्जा सीमा बढाउन माग गरेको थियो । खुलेदेखि नै सुधारको संकेत देखिएको मंगलबारको सेयर बजार अन्तत हरियो नै भएर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४.८९ अंकले उकालो लागेर १२८१.९० अंकमा पुगेको छ । कुल १५६ कम्पनीको २३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२० रुपैयाँ रहेको छ । त्यसैगरी, नबिल बैंक, यूनिलिभर नेपाल र एभरेष्ट बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका ३ समूह बाहेक अन्य बाँकी समूहको सूचक हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ६१ अंकले उकालो लागेको छ भने सबैभन्दा बढी उत्पादनमूलक समूह ३२ अंकले ओरालो लागेको छ ।