सेयर बजारमा ४९ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा ४९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बजारमा १३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९ दशमलब ९७ अंकले घटेर १५८० अंकमा झरेको छ । झण्डै दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहकको परिसूचक ८१ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंक लि प्रमोटर सेयरका सेयरधनीले ९.४५ प्रतिशत गुमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य १४२ अंकले घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०९९ रुपैयाँ

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०९९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७४६ रुपैयाँ रहने भएको छ ।

ओम डेभलपमेन्ट बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल नियुक्त

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । बैंकको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।